दक्षिण अफ्रिकामा भीषण बाढी, ५१ जनाको मृत्यु

Avatar photo
Dhadingpost
बैशाख ११, २०७६

जोहानसबर्ग, दक्षिण अफ्रिकाको पूर्वी क्षेत्रमा आएको बाढीमा परी कम्तीमा ५१ जनाको मृत्यु भएपछि राष्ट्रपति सिरिल रामाफोसाले स्थलगत अवलोकन गरेका छन् ।

दक्षिण अफ्रिकामा हालका दिनहरुका भारी वर्षाले सताएको र सोही कारण गत हप्ताबाट दक्षिण र पूर्वी भागहरु प्रभावित भएका छन् ।

लिबिया र सुडानमा जारी द्वन्द्वको विषयमा इजिप्टमा भएको सम्मेलनबाट फर्किनु भएका रामाफोसाले यस बाढीबाट ज्यान गुमाएका परिवार र समुदायप्रति दुःख प्रकट गर्दै सरकारले पूर्ण सहयोग गर्ने बताए ।

यस बाढीबाट प्रभावित परिवारलाई सहयोग गर्न राष्ट्रपतिले सबैसँग आह्वान गरे । यस बाढी र पहिरोमा परी मङ्गलबारसम्म ३३ जनाको मृत्यु भएको थियो । तर पहिरोमा पुरिएका व्यक्तिलाई निकाल्ने क्रममा सो सङ्ख्या ५१ पुगेको बताइएको छ ।

यस बाढीका कारण भवनहरु भत्किएका र विद्युत प्रशारण लाइनमा पनि समस्या आएको छ । सहयोग, उद्धारलगायत बाढी प्रभावित व्यक्तिहरुलाई सुरक्षित स्थानमा सार्नका लागि दक्षिण अफ्रिकी सेनालाई परिचालन गरिएको छ । एएफपी