
धादिङबेसी चैत्र ५ । धादिङको अत्याधुनिक सुविधा सहित संचालनको तयारीमा रहेको धादिङ क्रिक रिसोर्टले म्यूजिक कन्सर्ट सहित होली पर्व मनाउने भएको छ ।
नेपाली युवा पुस्तामा अत्याधिक रुचाईएका डीजे सिमोन सहित राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहने उक्त म्यूजिक कन्सर्ट सहितको होली कार्यक्रमको सम्पूर्ण तयारी सकिएको क्रिक रिसोर्टका संचालनक रामचन्द्र गिरीले बताए ।
संचालनक गिरीका अनुसार चैत्र ६ गतेहुने उक्त कार्यक्रमलाई मर्यादित र व्यवस्थित बनाउने टिकटको व्यवस्था गरिएको हो, कार्यक्रम सहभागिहरुले होटलको सम्पूर्ण सेवा सुविधाहरु लिन सक्ने छन् ।
सबै उमेर समूहलाई लक्षित गरी हामीले म्यूजिक कन्सर्ट तथा होली कार्यक्रममा सहभागिता जनाउन समेत उनले सबैमा आग्रह गरे ।
होली पर्वको महत्व
होली नेपाल, भारत तथा अन्य राष्ट्रमा रहेका हिन्दूहरूको एउटा महत्वपूर्ण चाड हो । यो चाड वसन्त ऋतुमा फागुनको महिनामा मनाइन्छ । होली रङ्गहरूको चाड हो । होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गिन बनाउछन् । होली पर्व मनाउनुको एउटा कारण र इतिहास छ ।
होली पर्व घरपरिवार साथीभाइ आपसमा रङमा रङ्गिएर उल्लासपूर्वक मनाउने फागुन पूर्णिमाको अवसरमा पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढहरूका हूल तथा जत्थाहरू हातमा रङ र रङ्गीन घोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो र होहल्ला गर्दै आपसी रिसईबीलाई बिर्सेर उत्साह र उमङ्गका साथ मनाइने रङ्गीन पर्वको रूपमा लिइन्छ ।
होली खेल्ने दिन भन्दा एक दिन पहिला राती होलीका दहन गरिन्छ । राती होलीका दहन गरिसकेपछि बिहान पानीमा रङ्ग घोलेर एक अर्कामाथि फाल्ने चलन छ । भनिन्छ कि होलीको दिन ‘पुरानो कटुता समाप्त गरेर, दुस्मनी बिर्सेर मान्छे एकअर्कासित मिल्छन्’ ।
