
पोखरा माघ १२ । नेपाली कांग्रेस धादिङका पार्टी सभापति रमेश धमलाले नेपाली जनताकाे लागि माग ११ गते कालाे दिन भएकाे बताएका छन् ।
आम जनताकाे भावना माथि खेलवाड गर्दै चिकित्सा शिक्षा विद्येेेयक बहुमतकाे बलमा पारित गरेकाेले ईतिहासकाे पानामा माघ ११ गते स्वास्थ्य क्षेत्रकाे कालाे दिनकाे रुपमा अंकित भएकाे पाेखरामा अायाेजित एक कार्यक्रमलाई सम्माेधन गर्दै धमलाले बताएका हुन् ।
नेपाली कांग्रेस, धादिङ–पोखरा सम्पर्क समितिको प्रशिक्षण एवं पारिवारिक वनभाेज कार्यक्रममा उनले कांग्रेसले बनाएको संविधान कार्यान्वयनमा कम्युनिष्टले विभिन्न बखेडा झिकेर समस्या सृजना गर्न थालेकाे समेत धमलाले आरोप लगाए ।
नेता धमलाले पार्टीको हालै सम्पन्न महासमिति बैठकबाट धेरै महत्वपूर्ण निर्णय भएको भन्दै यसले पार्टीलाई बलियो र सशक्त बनाउने दावी गरे । ‘महासमितिबाट भातृ संस्था तथा सम्पर्क संस्था पार्टीमा समेट्न निकै महत्वपूर्ण निर्णय भएको छ । हामी सबै नेता र कार्याकर्ता मिलेर, एकतावद्ध भएर उक्त निर्णय कार्यान्वयनतर्फ लाग्नुपर्छ’, नेता धमलाले भने ।
एउटा चुनाव हार्दैमा नडराउन, नअत्तालिन आग्रह गर्दै उनले पार्टीको काममा खरोरुपमा उत्रन निर्देशन दिए । ‘कांग्रेसहरूमाथि धावा बोल्नेहरू सबै परास्त भएका छन्, विलीन भएका छन्’, उनले थपे, ‘अहिले कम्युनिष्टले कांग्रेसलाई चिढ्याएको छ । यो कम्युनिष्ट सरकार चाँडै पतनको बाटोमा लाग्छ ।’
संस्कार नबाँची, संस्कृति बाँच्दैन, संस्कृति नबाँची पहिचान बाँच्दैन । त्यसैले यी सबैको पहिचान बोक्ने पार्टी नेपाली कांग्रेस भएको उनले स्पष्ट पारे ।
कास्की कांग्रेसका सभापति कृष्ण केसीले कम्युनिष्टको ज्यादति जनताले धेरै दिन सहेर नबस्ने चेतावनी दिए । भाषणले मात्र देश नचल्ने भन्दै उनले खोक्रो भाषण जनताले बुझिसकेको भन्दै केही वर्षमै कम्युनिष्ट तहसनहस हुने दावी गरे । उनले भने, ‘कांग्रेसको इतिहास लामो छ, बलियो छ, अंकगणितमा चुनाव हारेको मात्र हो, कसैले हल्लाउन सक्दैन । तपाइँहरू ढुक्क भएर पार्टीको काममा लाग्नुस् । अर्को पटक कांग्रेस नै ठूलो पार्टी बन्छ ।’
अर्को प्रसंगमा नेता केसीले धादिङवासीलाई पोखरामा एक्लो महसूस गर्न नदिएको भन्दै अबका दिनमा अझै फराकिलो हृदय बनाएर सोच्ने स्पष्ट पारे । उनले कास्की कांग्रेसको हरेक आन्दोलन तथा गतिविधिमा धादिङ कांग्रेसीजनको भूमिका महत्वपूर्ण रहेको भन्दै पोखरामा रहनुभएका धादिङका कांग्रेसीहरूलाई जिल्ला कमिटीमा समेट्न प्रयत्न गर्ने बताए ।
कांग्रेस नेता बासु तिमिल्सिनाले कम्युनिष्टले २ तिहाइको दम्भ देखाएर मुलुकलाई तहस–नहस बनाउन खोजेको बताए । उनले प्रश्न गरे, ‘एउटा गोविन्द केसीको माग संबोधन गर्न नसक्ने सरकारबाट ३ करोड नेपालीले के आशा गर्ने ?’
कांग्रेस महासमिति सदस्य झम्कनारायण श्रेष्ठले पार्टीको केन्द्रीय नीति, नियम र महासमितिले हालै पारित गरेका निर्णयहरू नेता, कार्याकर्ता र जनतालाई राम्रोसंग बुझाउन आवश्यक रहेकाले सक्रिय भएर लाग्न आग्रह गरे ।
अर्का महासमिति सदस्य कल्पना अधिकारीले पार्टीका सबै संगठन र नेता कार्याकर्तालाई सक्रिय र चलायमान बनाउन सकिए मात्रै कांग्रेस सशक्त पार्टी बन्ने बताइन् ।
नेविसंघका केन्द्रीय सदस्य रामप्रसाद अधिकारीले विपिको सिद्धान्त बोकेको पार्टी कमजोर नरहेको भन्दै कमिकमजोरी सच्याएर अघि बढ्नुपर्ने खाँचो औंल्याए ।
समितिका वरिष्ठ सल्लाहकार कृष्णकुमार श्रेष्ठले विपिको नाम बेचेर खाने मात्र होइन नयाँ विपि जन्माउनतर्फ ध्यान दिनुपर्नेमा जोड दिए ।
समितिका सभापति लालप्रसाद पाठकको सभापतित्वमा भएको कार्यक्रममा निवर्तमान सभापति केदार धमला, सल्लाहकार मोहन पण्डित, वरिष्ठ उपसभापति यादुप्रसाद ढकाल, सचिव माधव लम्साल लगायतले बोलेका थिए ।
समाजसेवी खनाल कांग्रेसमा प्रवेश
अग्रज समाजसेवी तथा धादिङ–पोखरा सम्पर्क समाजका पूर्वअध्यक्ष रुद्रप्रसाद खनाल नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका छन् । उनलाई नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीले टिका र खादा लगाएर पार्टीमा प्रवेश गराएका हुन् । पार्टी प्रवेशपछि संक्षिप्त प्रतिक्रिया दिंदै खनालले आफू अब नेपाली कांग्रेसको पूर्ण र बफादार कार्यकर्ता भएको बताए ।
उनीसंगै आशिष थपलिया र आकाश थपलिया पनि कांग्रेसमा प्रवेश गरेका छन् । यस्तै, कार्यक्रममा १५ जना विद्यार्थीलाई नेविसंघको सदस्यता प्रदान गरिएको छ । उनीहरूलाई नेविसंघका केन्द्रीय सदस्य भानु ढकाल, रामप्रसाद सापकोटा र नेपाली कांग्रेस, धादिङ–पोखरा सम्पर्क समिति नेविसंघ इकाईका सभापति हरिकृष्ण सिटौलाले सदस्यता प्रदान गरेका थिए ।
मृगौला पीडितलाई सहयोग
नेपाली कांग्रेस, धादिङ–पोखरा सम्पर्क समितिको पहलमा मृगौला पीडित कृष्णबहादुर सेडाइँलाई आर्थिक सहयोग गरिएको छ । समितिको शनिबार पोखरामा सम्पन्न प्रशिक्षण एवं संगठन सुदृढिकरण कार्यक्रममा २२ हजार रुपैयाँ सहयोग गरिएको हो । धादिङ ज्वालामुखी–३ निवासी ३५ वर्षीय सेडाइँ २ वटै मृगौला फेल भइ काठमाडौंमा उपचाररत छन् ।
