घले जातिको विवाह

Avatar photo
Dhadingpost
मंसिर २६, २०७५

यो मंसिर महिना विहेको लगनहरुले गर्दा धेरौ युवा युवातीहरु बैवाहिक जीवनका प्रवेस गर्दै छन् । नेपाली संस्कारले गर्दा हामी के जात जाती, के भाष भाषी सबै विवाह भोजमा जान्छौ र रितिरिवाज सँगै रमाउँने गर्दछौ ।

विवाह कार्यक्रममा नगएका हामी प्राय कमै छौ तर पनि हामी कुन जाती विवाह कसरी हुन्छ भन्नेमा त्यति ख्याल गरि रहेका हुँदैनौं । आज म आफ्नै जाति घले समुदायमा विवाह कसरी गरिन्छ भन्ने बारे जानकारी गराउँन जाँदै छु । लेखाईमा र चाल चलन अनुसार घले जातिमा विवाह प्रक्रिया केहि फरक र रोचक पनि छ ।

घले जातिमा यसरी हुन्छ विवाह
सामाजिक रीत अनुसार दुई परिवार (केटा पक्ष र केटी पक्ष) को सर सल्लाह र सहमतिमा विवाह गर्ने शुभ दिनको टुंगो गरिन्छ ।

केटी माग्न जाँदा बिर्चो गाड्ने
बेहुलाको तर्फबाट विवाहको लागि ठेगी पुम्को साथमा भित्री भाई र बाहिरी भाईको लागि दुई वटा भेडाको खसी, १२ पिस सेलरोटी कोस्रो (पेरुङ्गा) मा राखी १२ भारी रक्सीको साथै एउटा उखुको घाँटोमा एक मुठा रायो साग, दहीको ठेकी, रक्सी पुम् झुण्ड्याएर बेहुलीको घरको आँगनमा भारी बिसाउँनु पर्छ । त्यसलाइ बिर्चो गाड्ने भनिन्छ ।

बेहुलीको घरको माहौल

यति नै बेला बेहुलीको घरमा भित्री भाइ र बाहिरी भाई खलक सबै जम्मा भएर बसिरहेको हुन्छन् । त्यसपछि बेहुला र बेहुली दुबै पक्षको छलफलबाट सहमति भएपछि बेहुला र बेहुलीलाइ बाँचा कसम गराई बेहुलीको जेठो दाजूबाट ठेगी पुम् खोली आफ्नो घरको कुल (फुक्) मा कोसेली र सगुन छेदो छे (चढाई) जम्मा भएका दाजु भाईले सगुन ग्रहण गर्दछन् ।

यसपछि बेहुलाको तर्फबाट बहुलीको आमा बुबा, सासु, ससुरा, फुपू/सासु, दिदी/बहिनीहरुलाई पछ्यौरी, पगरी वा दोसाल्ला र नगद समेत दिएर ढोगभेट गरी ठेकी पुम्को रीत पुरा गरिन्छ ।

गोत्र सार्ने काम
जातिय रीत पुरा गरेपछि गोत्र सार्ने कार्य सुुरु हुन्छ । यो बाहिरी भाईबाट मात्रै सम्पन्न गरिन्छ । गोत्र सार्दा बाहिरी भाईबाट ज्वाईको गोत्र सोधपुछ गरी निश्चित भएपछि सम्पुर्ण दाजूभाइको सहमति लिइन्छ र ज्वाइको पटुकामा सिक्का पैसा र अक्षेता राखि ज्वाईलाई कसम खुवाईन्छ ।

यसरी खुवाइन्छ कसम
हाम्रो छोरीको आवश्यक लालनपालन, हेर्चाहा, बिरामी हुँदा औषधी उपचारको साथै सामन्य अबस्थामा मृत्यु हुदाँ र भिर पखेराबाट लडेर शरीर क्षत बिक्षत भएको अबस्थामा पनि चिम्टाले मासु टिपेर दाहा संस्कार गर्नुका साथै अर्कुङ् गर्न सक्छ की सक्दैन भनेर सोधिन्छ र ज्वाईबाट यी सबै कार्य गर्न सक्छु भन्ने जबाफ आएपछि एकचाली वाचा, दुइचाली वाचा, तीनचाली वाचा भन्दै पटुकामा राखेको सिक्का पैसा र अक्षेतालाइ तीन गाँठो बाँधी गोत्र सुम्पिन्छ ।

सगुन भारीको अधिकार
बेहुलाको तर्फबाट ल्याएको सगुन भारीलाई सुुरुमा बाहिरी भाइले हात लगाउँछ र उनीहरुको नै छान्ने हक हुन्छ । छानी सकेपछि आधा चाँही बल्ल भित्री भाइको हुन्छ । त्यसैको सट्टा नै बेहुलीको घर लगायत भित्री भाई र बाहिरी भाई गरेर आफ्नो चेलीलाई दाइजो दिइन्छ ।

त्येसपछि त्यो बेर्चोलाइ समातेर बेहुला र बेहुलीलाइ अगाडी उभ्याएर बाहिरी भाईद्वारा कसम खुवाइन्छ र दुबैलाइ दहि र अछेताको सेतो टिका टालो गराएर ढोगभेट भएपछि बाजा बजाउदै घर लगिन्छ । यी प्रकृया पुरा भएपछि केटा केटी श्रीमान श्रीमती (फुतुङ्मुतुङ्) को रुपमा परिभाषित वा स्तापित हुन्छ ।