जनस्वास्थ्य कार्यालय धादिङद्वारा स्थानीय तहलाई डेंगी नियन्त्रणका लागि सतर्कता आग्रह

Avatar photo
Dhadingpost
बैशाख २२, २०८३

धादिङ। जनस्वास्थ्य कार्यालय धादिङले डेंगी संक्रमणको जोखिमलाई मध्यनजर गर्दै स्थानीय तहहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

कार्यालयले हालका वर्षहरूमा देखिएको डेंगी संक्रमणको अवस्थालाई ध्यानमा राख्दै घर वरिपरिको वातावरण सफा राख्न, पानी जम्न नदिन, खुला ठाउँमा रहेका भाँडाकुँडाहरू व्यवस्थापन गर्न र लामखुट्टेको प्रजनन नियन्त्रणका उपायहरू अपनाउन आग्रह गरेको हो ।

साथै, झुलको प्रयोग गर्न, पूरा बाहुला भएका कपडा लगाउन र लामखुट्टेको टोकाइबाट जोगिने उपायहरू अवलम्बन गर्न पनि सुझाव दिइएको छ । लामखुट्टेको लार्भा खोजी तथा नष्ट गर्ने अभियान सञ्चालन गर्न समेत स्थानीय तहहरूलाई अनुरोध गरिएको छ ।

जनस्वास्थ्य कार्यालयले स्थानीय तहहरूलाई स्वास्थ्य आकस्मिक योजना (Health Contingency Plan) अद्यावधिक गरी आवश्यक जनशक्ति, परीक्षण किट र औषधि तयारी अवस्थामा राख्न आग्रह गरेको छ ।

यस्तै, सम्भावित महामारी तथा विपद्‍जन्य घटनाहरू देखिएमा तत्काल जानकारी गराउन पनि आग्रह गरिएको छ।