
‘स्वास्थ्य’ क्षेत्र आफैँमा निकै संवेदनशील मानिन्छ । कारण, स्वास्थ्यमा कुनै पनि समस्या देखिए त्यसले समग्र मुलुक र कहिलेकाहीँ महामारीको कारण समग्र विश्वलाई समेत प्रभावित बनाउन सक्छ । स्वस्थ मानिसबिना स्वस्थ समाज र मुलुकको कल्पनासमेत गर्न सकिँदैन । त्यस कारण पनि स्वास्थ्यलाई विशेष प्राथमिकता र जोड दिएर नै सबैले आफ्नो कामलाई अघि बढाउनुपर्ने हुन्छ ।
‘स्वास्थ्य पत्रकार’ को हुन् ?
स्वास्थ्यको विषयमा मानिसलाई सु-सूचित गर्ने, स्वास्थ्यमा नागरिकको पहुँच पुर्याउनका लागि भूमिका निर्वाह गर्ने, स्वास्थ्यका हरेक पाटोलाई केलाउने तथा स्वास्थ्य विधामा सशक्त रूपमा कलम चलाउने पत्रकार, ‘स्वास्थ्य पत्रकार’ हुन् ।
जिम्मेवार र संवेदनशील पेशा
स्वास्थ्य पत्रकारले स्वास्थ्य, चिकित्सा, जनस्वास्थ्य नीति र रोग र उपचारसँग सम्बन्धित विषयहरूलाई अनुसन्धान गर्ने, त्यसको विश्लेषण गर्ने साथै सधैँ सत्यतामा आधारित खबर तथा अन्य सामग्री जनतासम्म पुर्याउने गर्दछन् । यो क्षेत्र सामान्य पत्रकारिताभन्दा बढी जिम्मेवार र संवेदनशील मानिन्छ, किनकि यसले प्रत्यक्ष रूपमा मानिसको जीवन र जीवनस्तरसँग सम्बन्धीत निर्णयलाई प्रत्यक्ष असर गर्दछ ।
‘स्वास्थ्य समाचार’ लेख्दा कस्ता कुराहरूमा ध्यान दिने?
अन्य जस्तै ‘स्वास्थ्य समाचार’ लेख्दा पनि तल उल्लेखीत कुराहरूमा ध्यान दिनुपर्छः
१. तथ्यपरकता (Accuracy)
‘स्वास्थ्य समाचार’ सधैं सत्य र प्रमाणित तथ्यमा आधारित हुनुपर्छ । तथ्य विहीन, अपुष्ट वा हल्लाको आधारमा समाचार लेख्नु हुँदैन । समाचार सधैं तथ्यपरक हुनुपर्छ ।
२. निष्पक्षता (Objectivity)
‘स्वास्थ्य समाचार’ लेख्दा व्यक्तिगत विचार, पक्षपात वा भावना मिसाउन हुँदैन । निष्पक्षताका साथ सबै पक्षलाई समान रूपमा प्रस्तुत गर्नुपर्छ । समाचार सधैं सत्य, तथ्य र निष्पक्ष हुनुपर्छ ।
३. ५W र १H नियम पूर्णतः पालना
अन्य समाचारमा जस्तै ‘स्वास्थ्य समाचार’ मा पनि अनिवार्य रूपमा यी प्रश्नहरूको उत्तर हुनुपर्छ, जस्तैः के (What), कहिले (When), कहाँ (Where), किन (Why), को (Who) र कसरी (How) आदि । यसले उत्कृष्ट समाचार लेखनमा महत्त्वपूर्ण भूमिका खेल्दछ ।
४. शीर्षक (Headline)
‘स्वास्थ्य समाचार’ मा शीर्षक छोटो, स्पष्ट र आकर्षक हुनुपर्छ । यसले समाचारको मुख्य सन्देश झल्काउनुपर्छ । शीर्षक दोहोरो अर्थ दिने खालको हुनुहुन्न ।
५. लिड (Lead)
समाचारको पहिलो अनुच्छेद (Lead) सबैभन्दा महत्वपूर्ण हुन्छ । यसले सम्पूर्ण समाचारको सार दिनुपर्छ ।
६. सरल र स्पष्ट भाषा
स्वास्थ्यमा विभिन्न प्राविधिक शब्दहरू हुन्छन् । जटिल शब्दहरूभन्दा सरल, बुझ्न सजिलो भाषा प्रयोग गर्नुपर्छ । समाचार एवम् अन्य लेख सबै वर्गका पाठकले बुझ्ने खालको हुनुपर्छ ।
७. सन्तुलन (Balance)
एकपक्षीय भन्दा पनि सम्बन्धित सबै पक्षको धारणा समेट्नुपर्छ । एउटै पक्षको मात्र कुरा राख्दा समाचार सन्तुलित हुँदैनन् ।
८. स्रोतको उल्लेख
समाचारमा प्रयोग गरिएको जानकारीको स्रोत सधै विश्वसनीय हुनुपर्छ । आवश्यक परे स्रोत खुलाउनुपर्छ । जसले समाचारको विश्वसनीयता समेत बढाउँछ ।
९. समय सान्दर्भिकता (Timeliness)
समाचार सधैँ नयाँ र सान्दर्भिक हुनुपर्छ । पुरानो विषयलाई नयाँ कोणबाट प्रस्तुत गर्न सकिन्छ ।
१०. संरचना (Structure)
समाचार सामान्यतया “Inverted Pyramid” शैलीमा लेखिन्छ: सबैभन्दा महत्वपूर्ण जानकारी सुरुमा र त्यसपछि क्रमशः कम महत्वपूर्ण विवरण राख्नुपर्छ ।
११. नैतिकता (Ethics)
पत्रकारले आफ्नो आचारसंहिता सधैँ पालना गर्नुपर्छ । समाचार एवम् अन्य सामग्री तयार गर्दा कसैको गोपनीयता, प्रतिष्ठा र संवेदनशील विषयमा विशेष ध्यान दिनुपर्छ ।
१२. शुद्धता (Clarity & Proofreading)
समाचार प्रकाशित गर्नु अघि व्याकरण, शुद्धता र तथ्य जाँच (proofreading) गर्नुपर्छ । यसले उत्कृष्ट समाचार लेखनमा समेत महत्त्वपूर्ण भूमिका खेल्दछ ।
स्वास्थ्य क्षेत्रमा नागरिकलाई सचेत तथा सजग बनाउनु
स्वास्थ्यमा नागरिकको पहुँच, सरकारले प्रदान गर्ने सेवा सुविधा, सरकार र नागरिकबीचको सम्बन्धलगायतका विषयमा जानकारी दिने र सूचना प्रवाहको जिम्मा लिएका स्वास्थ्य पत्रकारले पछिल्लो समय विभिन्न कोणहरूबाट स्वस्थ समाज निर्माणमा पनि ठूलो भूमिका निर्वाह गरिरहेका छन् ।
स्वास्थ्य विधामा कलम चलाउने स्वास्थ्य पत्रकारहरूले नागरिकलाई एकदमै गहन रूपले छलफल गर्न बाध्य बनाउने, सूचनामा पहुँच पुर्याउने र नागरिकलाई सचेत बनाउने काम पनि गरिरहेका छन् । जसका कारण नागरिक पनि सचेत बन्दै आफूले पाउनुपर्ने हक अधिकार र सेवा सुविधाका बारेमा सोधीखोजी गर्ने भएका छन् । त्यसैगरी, व्यक्तिगत सरसफाइ, सन्तुलित खानपान, योगा, दैनिक कसरत र नियमित स्वास्थ्य परीक्षणजस्ता विषयमा उनीहरू सचेत तथा सजग भएका छन् ।
‘रोग लागेर उपचार गर्नुभन्दा रोगै लाग्न नदिनु उत्तम उपाय हो ।’
भनिन्छ, ‘रोग लागेर उपचार गर्नुभन्दा रोगै लाग्न नदिनु उत्तम उपाय हो ।’ आधिकारिक सूचना तथा जनचेतनाको माध्यमबाट रोग नै लाग्न नदिनुहोस् या रोग वा कुनै महामारी लागेको खण्डमा समेत त्यसबाट व्यक्ति, समाज, राष्ट्र र विश्वलाई बचाउन पत्रकारको महत्त्वपूर्ण भूमिका रहने गर्दछ । अझै त्यस्तो अवस्थामा स्वास्थ्य पत्रकारको भूमिका विशेष हुन्छ ।
महान् वैज्ञानिक थोमस एल्भा एडिसनले भनेका छन्, ‘फैलिएर रहेका र निचोर्दा रस आउने पत्रकारिताबाहेक अरु कुनै पेसा छैन । यो कति सुन्दर छ भने दैनिक हजारौँकहाँ पुग्छ, तिनीहरूलाई ज्ञान, सूचना, शिक्षा र मनोरञ्जन प्रदान गर्छ । मलाई आफू पत्रकार नभएकोमा खेद छ ।’
एडिसनले भनेझैँ पत्रकारिता त्यो हो, जसले समाजमा दैनिक रूपमा भइरहने क्रियाकलापलाई सञ्चारमाध्यमबाट प्रकाशन/प्रसारण गर्छ, जसमा स्वास्थ्यको सवाल होस् वा अन्य ।
पत्रकारिताको मुख्य उद्देश्य स्वस्थ र आदर्श समाजको निर्माण हो । पत्रकारितामा नयाँ सामाजिक घटनालाई महत्त्व दिइन्छ । यसले स्वास्थ्य क्षेत्रको होस् वा अन्य हरेक घटनाको विश्लेषण र मूल्याङ्कन गर्दै सर्वसाधारणसमक्ष उनीहरूले बुझ्ने सरल भाषामा प्रस्तुत गरिन्छ । नवीनतम घटनाको संकलन, चयन एवं सम्प्रेषणको समग्र प्रक्रिया पत्रकारिता हो ।
सरकारले स्वास्थ्यलाई ध्यानमा राखी ल्याएका नीति तथा कार्यक्रम, बजेट, विभिन्न ऐन नियम, सेवा सुविधालगायतका विषयमा नागरिकलाई सूचना दिने र जानकार बनाउने काम पछिल्लो समय स्वास्थ्य पत्रकारहरूले गर्दै आएका छन् । उनीहरूले लेखे र बोलेको भरमा नै नागरिकले स्वास्थ्यमा आफ्नो पहुँच स्थापित गर्न थालेका छन् । सरकारले आफ्ना लागि ल्याएका कार्यक्रम र सेवा सुविधाबारे सोधीखोजी गर्न थालेका छन् ।
महामारी नियन्त्रणमा स्वास्थ्य पत्रकारको भूमिका
स्वास्थ्य विधामा कलम चलाउने स्वास्थ्य पत्रकारहरूले नागरिकलाई गलत सूचनातर्फ लाग्नेभन्दा पनि सही सूचना कसरी पत्ता लगाउनेमा पनि सचेत गराइरहेका छन् । उदाहरणका लागि कोरोना महामारीको बेला अनावश्यक हल्लाको पछि लाग्नुभन्दा सम्बन्धित निकायले प्रवाह गरेको र विश्वासिलो स्रोतले दिएको सूचनामा मात्रै विश्वास गर्ने वातावरण स्वास्थ्य पत्रकारहरूले गरेका थिए । यस्ता महामारीको समयमा सत्यतथ्य सूचना र समाचारको माध्यमबाट नागरिकको मनोभावनात्मक उपचारका साथै त्यस्ता महामारी नियन्त्रणमा स्वास्थ्य पत्रकार अन्य समयमा भन्दा विशेष संयमित हुनुपर्छ ।
स्वस्थ समाज निर्माणमा स्वास्थ्य पत्रकारिता
स्वस्थ समाज निर्माणमा नागरिकको भूमिका जति आवश्यक छ, त्यति नै स्वास्थ्य पत्रकारको पनि छ भन्ने कुरालाई स्वास्थ्य पत्रकारहरूले पछिल्लो समय स्थापित गराउँदै गएका छन् । नागरिक स्वस्थ हुनका लागि उसले गर्नुपर्ने कामदेखि, खानपान, चेकजाँचलगायतका पक्षलाई स्वास्थ्य पत्रकारले आफ्नो लेख मार्फत स्थापित गराउँदै गएका छन् । जसले गर्दा पनि स्वस्थ समाज निर्माणमा सहज भएको छ । मानिस आफ्नो स्वास्थ्यप्रति सचेत भयो भने त्यसले समग्र देश स्वस्थ हुन्छ भन्ने कुरामा पनि स्वास्थ्य पत्रकारहरूले भूमिका निर्वाह गरिरहेका छन् । जसलाई हामीले नकार्न सकिँदैन ।
आज मे ३ तारिख अर्थात् विश्व प्रेस स्वतन्त्रता दिवसः
‘शान्तिपूर्ण भविष्यको निर्माणः मानव अधिकार, विकास र सुरक्षाका लागि प्रेस स्वतन्त्रताको प्रवर्द्धन’ भन्ने नारासहित मनाइएको विश्व प्रेस स्वतन्त्रता दिवसको सबैमा शुभकामना ।
(लेखक पाठक चितवनमा क्रियाशील स्वास्थ्य पत्रकार हुन् । उनी स्वास्थ्य डायरीका चितवन सम्पादक समेत हुन् ।)
