शिक्षा र चेतनाले महिला हिंसा अन्त्य हुन्छः राष्ट्रपति भण्डारी

Avatar photo
Dhadingpost
मंसिर ९, २०७५

काठमाडौं, ९ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले महिला हिंसा अन्त्यका लागि शिक्षा र चेतना फैलाउन आवश्यक रहेको मा जोड दिनुभएको छ ।

महिलाविरुद्ध हुने सबै खालका हिंसा अन्त्यका लागि शिक्षा र चेतना फैलाउनु तथा आर्थिकरुपले आत्मनिर्भर र स्वावलम्बी बनाउनु आजको आवश्यकता भएको उहाँले बताउनु भयो ।

संयुक्त राष्ट्रसङ्घको महासभाले प्रत्येक वर्षको नोभेम्बर २५ लाई महिलाविरुद्ध हुने हिंसा निर्मूलनसम्बन्धी अन्तर्रा्ष्ट्रिय दिवसका रुपमा मनाउने निर्णयबमोजिम नेपालमा पनि यो दिवस मनाउने गरिएको छ ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा उहाँले बोक्सीको आरोप, छाउपडी, दाइजोजस्ता कुप्रथालाई कानूनले निषेध गरिसकेको अवस्थामा समेत समाजमा अहिले पनि रहिरहेका अन्धविश्वास, कूरीति, कुसंस्कारले गर्दा नेपाली महिला हिंसा, विभेद र अपमानका पीडा खप्न अझै बाध्य रहेको बताउनुभयो ।