काठमाडौं, मंसिर ७ । संसदको शिक्षा तथा स्वास्थ्य समितिले समिति सदस्य र कर्मचारीको क्षमता अभिवृद्धिका लागि प्रशिक्षण दिँदैछ ।
यही मंसिर १६ र १७ गते दुई दिने कार्यशाला राखिएको समिति सभापति जयपुरी घर्तीले जानकारी दिइन । बैठक सञ्चालनको विधि ब्यवस्थापन र समितिको काम कारबाहीलाई प्रभावकारी बनाउने मुख्य उदेश्यले कार्यशाला राखिएको जनाइएको छ ।
सभापति घर्तीका अनुसार सरकारी कामकारबाहीको मु्ल्याङ्कन, अनुगमन, विगतमा दिइएका निर्देशनको कार्यान्वयन र निर्देशन दिँदा ख्याल गर्नुपर्ने विषय र सन्दर्भबारे पूर्व–सभामुख सुवासचन्द्र नेम्वाङ्ले प्रशिक्षित गर्नेछन् ।
विगतमा भएका समितिका कामकारबाहीको अध्ययन, त्यसको मुल्याङ्कन, समितिले दिएका निर्देशनबारे सम्बन्धित मन्त्रालयले गरिरहेको व्यवहारलगायतका विषयमा पटक–पटक कुरा उठेपछि आन्तरिक रणनीति बनाउन कार्याशालाले सजिलो बनाउने सभापति घर्तीले बताइन् ।
समितिको काम कारबाहीको विगत र वर्तमानको अवस्था, अन्तर्राष्ट्रिय अभ्यासलगायतका विषयमा भने राष्ट्रियसभा सदस्य तथा वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले प्रशिक्षण दिनेछन् ।
सांसदहरुलाई विषयवस्तुबारे प्रष्ट पार्नका लागि कार्यशाला राखिएको सभापति घर्तीले जानकारी दिइन् । ‘सांसदहरु नै विषयवस्तुमा क्लियर हुनुपर्छ’, सभापति घर्तीले भनिन् ‘कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर नहोस भन्नका निम्ति कार्यशाला गर्नुपरेको हो ।’
