आमा सिरियामा अलपत्र, घरमा छोराछोरीको बिजोग

Avatar photo
Dhadingpost
शुक्रबार, चैत्र २०, २०७१

Sabitra_Magar_Dhading_499449753मनिश दुवाडी धादिङ । पैसा कमाएर बालबच्चा पाल्ने सपनासहित विदेश उडेकी आमा श्रम अनुमति नै नपाएको सिरियामा अलपत्र परेपछि घरमा रुवाबासी भएको छ ।
धादिङको मैदी गाउँ विकास समिति–१ उखुबारीकी सुनिता मगर विदे जान भन्दै पासपोर्ट बनाएर तालिम लिन पोखरा गएकी थिइन । पतिले सौता हाली घरबाट निकालेपछि उनी लामो समयदेखि नीलकण्ठ–८ को मगर गाउँस्थित माइतीमा बस्दै आएकी थिइन ।

‘विदेश नजाऊ छोरी माइतीमै दुःख, सुख बसौँला भनेका त थियौँ । तर छोराछोरीको भविष्यका लागि विदेश जान्छु भनिन्’, आमा सावित्रीले रुँदै भनिन्, ‘पैसा कमाएर छोराछोरी पाल्न हिँडेकी छोरी मंसिरमा सिरिया अलपत्र परेको खबर आयो ।’
पासपोर्ट बनाएर तालिम लिन पोखरा गएकी छोरी एकाएक द्वन्द्वग्रस्त सिरियामा रहेको खबर आएपछि परिवार चिन्तामा डुबेका हुन् । उनी कहिले कोमार्फत सिरिया पुगिन् परिवारलाई थहा छैन ।

घरमा रहेका सबै कागजपत्र लिएर उनी हिँडेकी थिइन् । ‘मंसिरमा छोरीले फोन गरेकी थिई । त्यतिबेला फोन गर्दा त सवै ठीकै छ भनेकी थिइ’, आँखाभरि आँसु बनाउँदै आमा सावित्रीले भनिन्, ‘तर अहिले समस्यामा परिछ । जतिसक्दो चाँडो नेपाल नफर्काए ज्यान समेत जाने अवस्था छ ।’
छोरीले फोन गर्दा पासपोर्ट साहुले राखेको बताएकी सावित्रीको भनाइ छ । ‘घर बाहिर दिनहँु बम पड्किरहन्छ । विदेशी नागरिक देख्ने वित्तिकै विद्रोहीले गोली हान्ने गरेकाले घर बाहिर निक्लन सक्दिनँ’, छोरीको भनाइ उधृत गर्दै सावित्रीले भनिन्, ‘फोनमा छोरी रुन्छे । अब कसरी फिर्ता बोलाउने होला ।’

सुनिता विदेश पुगेपछि उनका छोरछोरीले रोएर रातदिन ममी खोजिरहेका छन् । ‘नाति त ठुलो भइसक्यो, उसले कुरा बुझ्छ तर सधैँ ममी खोज्ने नातिनीलाई के भनेर फकाऊँ,’ सावित्रिले रुँदै भनिन । सुनिताका ९ वर्षका छोरा र ७ वर्षकी छोरी छन् ।
छोरीको सकुशल उद्धारको लागि सावित्रीले सुरक्षित आप्रवासन परियोजना अन्तरगत सूचना तथा परामर्श केन्द्रमा निवेदन दिएकी छन् । उनलाई सकुशल उद्धार गर्न पहल भइरहेको सुरक्षित आप्रवासन परियोजनाकी संयोजक गंगा सुवेदीले बताइन् ।

‘श्रमअनुमति नभएको द्वन्दग्रस्त देशमा सुनिता कसरी पुगिन् भन्नेबारे खोजविन भइरहेको छ’, उनले भनिन्, ‘सुनिताको समस्यालाई हामीले प्रवासी नेपाली समन्वय समितिमा पनि जानकारी गराएका छौँ, उनको उद्धार गर्न त्यहाँबाट पनि पहल हुन्छ ।’ सुनिताको उद्धार गर्न परराष्ट्र मन्त्रालयमा पनि कुरा भइरहेको सुवेदीले बताइन् । उनलाई पोखराबाट सिरिया पठाइएको जानकारी आएको उनको भनाइ छ । साभारः अन्नपूर्ण पोष्ट