
उपेन्द्र जमकट्टेल
धादिङ, गजुरी, कार्तिक १७ । निर्वाचनको प्रचारका क्रममा निर्वाचित गरे सरकारी सेवा सुविधा नलिने घोषणा गरेका धादिङका केहि निर्वाचित जनप्रतिनीधिलाई चुनौति दिँदै एक जनप्रतिनिधिले सरकारी सुविधाको मोटर साइकल गाउँपालिकालाई नै फिर्ता गरेका छन् ।
चुनावका वेला सरकारी सेवा सुविधा नलिने प्रतिवद्धता गरेका निर्वाचित जन प्रतिनीधिहरुले सेवा सुविधा त लिई रहेका छन् भने कतिपयले आफ्नै गाउपालिकामा जेसिवि खरीद गरी संचालन समेत गरेको पाइएको वेला सरकारी मोटर साइकल फिर्ता गर्दै पहिलो जननिर्वाचित प्रतिनिधि बनेका छन्, गजुरी गाउपालिका वडा नं ८ का वडा अध्यक्ष राजकुमार ढुंगाना ।
गजुरी गाउँपालिकाले प्रत्येक वडा अध्यक्षलाई सरकारी वाइक निर्वाचित हुने बित्तिकै बाडेको थियो । तर ८ नं का वडा अध्यक्ष ढुंगानाले सरकारी वाइक फिर्ता गरेका छन् ।
तत्कालिन नेकपा माओवादी केन्द्रको तर्फबाट गजुरी गाउँपालिका वडा नं ८ मा निर्वाचित भएका ढुंगानाले चड्दै आएको बा २ ब ७८५६ नम्वरको मोटर साइकल गाउँपालिकालाई नै फिर्ता गरेका हुन् ।
