धादिङ-पाेखरा सम्पर्क समाजकाे अध्यक्षमा कृष्णबहादुर लम्साल

Avatar photo
Dhadingpost
अशोज १८, २०७५

हरि पन्त
धादिङ असोज १८ ।
धादिङ–पोखरा सम्पर्क समाजको अध्यक्षमा कृष्णबहादुर लम्साल चयन भएका छन् । समाजको १० औं अधिवेशनबाट उनी अध्यक्ष पदमा चयन भएका हुन् । धादिङ नीलकण्ठ नगरपालिका निवासी लम्साल समाजको संस्थापक सदस्य हुँदै पटक–पटक सल्लाहकारको भूमिका निर्वाह गर्दै आएका थिए ।

अध्यक्ष पदमा लम्सालसहित ५ जनाको उम्मेदवारी परेको थियो । अध्यक्ष पदमा उम्मेदवारी दिएका केदार धमला, युवराज खतिवडा, गोकर्ण लम्साल र युगमराज अगस्तीले उम्मेदवारी फिर्ता लिएपछि कृष्णबहादुर सर्वसम्मत भएका हुन् ।

यसैगरी वरिष्ठ उपाध्यक्षमा मोहन पण्डित चयन भएका छन् । धादिङ गल्छी गाउँपालिका निवासी उनी यसअघि समाजमा सचिवको भूमिका निर्वाह गरेका थिए । वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिएका शम्भु अधिकारी र हरि पन्तले उम्मेदवारी फिर्ता लिंदै पण्डितलाई सर्वसम्मत बनाएका थिए ।

यस्तै उपाध्यक्षमा प्रेम नेपाली चयन भए । नीलकण्ठ नपाका उनी यसअघि कार्यसमिति सदस्यमा रहेर काम गरेका थिए ।

यसैगरी महासचिवमा धादिङ त्रिपुरासुन्दरी गाउँपालिकाका रामप्रसाद पाण्डे राजु चयन भएका छन् । उनी यसअघि कार्यसमिति सदस्य भएर काम गरेका थिए । महासचिवमा उम्मेदवारी दिएका प्रकाश दुलालले उम्मेदवारी फिर्ता लिएपछि पाण्डे सर्वसम्मत भएका हुन् ।

यस्तै सचिव पदमा सिद्धलेक गाउँपालिकाकी सरस्वती श्रेष्ठ सरु चयन भएकी छन् । उनी यसअघि कार्यसमिति सदस्य भएर काम गरेकी थिइन् । उम्मेदवारी मनोनयनमै निर्विरोध भएकी उनी सिद्धलेक गाउँपालिका इकाइकी अध्यक्ष समेत हुन् ।

यसैगरी कोषाध्यक्षमा रामकुमार घिमिरे र सहकोषाध्यक्षमा कमलबहादुर सापकोटा चयन भए । उनीहरू दुवै नीलकण्ठ नपा निवासी हुन् । कोषाध्यक्षमा उम्मेदवारी दिएका अर्जुन खतिवडाले उम्मेदवारी फिर्ता लिएपछि घिमिरे सर्वसम्मत भएका हुन् । घिमिरे यसअघि सहकोषाध्यक्ष तथा सापाकोटा कार्यसमिति सदस्य भएर काम गरेका थिए ।

यस्तै कार्यसमिति सदस्यमा नीलकण्ठ नापाका माधव लम्साल, सीता श्रेष्ठ, गल्छी गाउँपालिकाका विजय श्रेष्ठ, सिद्धलेक गापाका रामप्रसाद दुवाडी, केशर पुलामी, ज्वालामुखी गापाका सरोज कुँवर, देवराज अर्याल र त्रिपुरासुन्दरी गापाका कृष्णप्रसाद थपलिया चयन भएका छन् । सदस्य माधव लम्साल बाहेक अरु सबै नयाँ अनुहार हुन् । लम्साल यसअघि कार्यसमिति सदस्य भएर काम गरेका थिए ।

‘भारी उपयुक्त गन्तव्यमा पु¥याउँछु’
नवनिर्वाचित अध्यक्ष कृष्णबहादुर लम्सालले धादिङवासीले बोकाइदिएको भारीलाई उपयुक्त गन्तव्यमै पु¥याएर छाड्ने प्रतिवद्धता जनाए । उनले बाटोमा केही समस्या परे सबैसँग सरसल्लाह गरेर भए पनि उपयुक्त गन्तव्यमै पु¥याउने स्पष्ट पारे । उनले भने, ‘तपाइँहरूले विश्वासका साथ महत्वपूर्ण भारी बोकाइदिनुभएको छ । भारी बोकेर हिंड्ने क्रममा केही समस्या आए टेको दिनुहोला । म उपयुक्त गन्तव्यमै पु¥याउछु ।’ धादिङवासीको प्रत्येक समस्यामा साथ दिने उनले स्पष्ट पारे ।

उक्त अवसरमा नयाँ टीमलाई शुभकामना दिंदै पूर्वअध्यक्षहरू हरि अर्याल, बलराम खतिवडा, झम्क सारु मगर, निवर्तमान अध्यक्ष युवराज खतिवडा, पूर्व सल्लाहकारद्वय वीरबहादुर थापा र लालप्रसाद पाठक, १० औं अधिवेशन संयोजक युगमराज अगस्ती लगायतले धादिङवासीले नयाँ टिमबाट धेरै आशा गरेकाले आशामा निराशा आउन नदिन आग्रह गरे ।
पूर्वअध्यक्ष कृष्णकुमार श्रेष्ठ संयोजक, सल्लाहकार लुमडिप्रसाद अगस्ती सहसंयोजक र हरि अधिकारी सदस्य सचिव रहेको निर्वाचत समितिले नयाँ कार्यसमिति चयन गरेको हो ।