चँगा उडाउँदा करेन्ट लागेर एक बालकको मृत्यु

Avatar photo
Dhadingpost
अशोज १३, २०७५

कास्की, असोज १३ । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर– १ टुसेमा शुक्रबार साँझ चंगा उडाउने क्रममा १२ वर्षीया बालकको मृत्यु भएको छ ।

स्थानीय हिमालय आधारभूत विद्यालयमा कक्षा ५ मा अध्ययनरत १२ वर्षीय राकेश पुनको विद्युत् पोलमा अड्किएको चंगा निकाल्ने क्रममा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी घाचोकका इन्चार्ज भट्टराम गुरुङले जानकारी दिए ।

गुरुङका अनुसार पोखराबाट प्रहरी र विद्युत् प्राधिकरणको प्राविधिकसहितको टोली पुगेपछि मात्र बिजुलीको नांगो तारमा अड्किएका बालकलाई बाहिर निकालिएको थियो । शव पोष्टमार्टमको लागि पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।

चंगा उडाएर खेलिरहेका बालक पुन चंगा विद्युतको पोलमा अड्किएपछि निकाल्नको लागि पोलमा चढेका थिए । पोलमा चढ्नेबित्तिकै उनी नांगो तारमा अड्किएको प्रहरीको भनाइ छ ।