विराटनगर, साउन २८ । उत्तरी मोरङको लेटाङ नगरपालिका ९ जाँतेको एक विद्यालयमा विषाक्त पानी खाँदा १६ विद्यार्थी विरामी परेका छन् ।
लेटाङको श्रीमाविमा विषादी मिसिएको ट्यांकीको पानी खाँदा गम्भीर बिरामी भएका दुई जनाको विराटनगरस्थित नोवेल अस्पतालमा उपचार भइरहेको छ । अरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
अरु विद्यार्थीको स्वास्थ्य स्थिति सामान्य रहेको छ । प्रहरीका अनुसार विद्यालयको पानी टंयाकीमा साइपर मेथिन नामको विषदी हालेको पाइएको छ । यो सामान्य प्रकारको विषादी रहेको प्रहरीको भनाइ छ ।
पानीमा विषादी कसले हालेको भन्नेबारेमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक युवराज खतिवडाका अनुसार बिद्यालयको खानेपानी ट्याङ्कीमा अज्ञात ब्यक्तिले बिष मिसाएको पाइएको छ ।
बिरामी विद्यार्थीमध्ये सृष्टि निरौला र खुश्बु मिश्रले लगातार वान्ता गरेपछि उनीहरुलाई थप उपचारका लागि विराटनगर पठाइएको प्रहरी निरीक्षक खतिवडाले जानकारी दिए ।
