प्रचण्डको भारत र चीन भ्रमणको मिति तय

Avatar photo
Dhadingpost
साउन २५, २०७५

काठमाडौँ, साउन २५ । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चीनभन्दा पहिले भारतको भ्रमण गर्ने भएका छन् ।

यसअघि नेकपाका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले असार ५ देखि १० गतेसम्म चीन भ्रमण गरेका थिए । चीन भ्रमणले दुई देशबीच पारवहन, बहुआयामिक सम्पर्क संजाल विस्तार, ऊर्जा पूर्वाधार विकास, रसुवा मितेरी पुल निर्माण, लगानी तथा उत्पादनको क्षेत्रमा नेपालमा लगानी बढाउने बारे भएका सम्झौता भएका थिए ।

प्रचण्डले भदौ २२ देखि २७ सम्म भारतको भ्रमण गर्नेछन् भने असोज १ गतेदेखि ७ गतेसम्म चीन भ्रमणका लागि बेइजिङ जाने उच्च स्रोतले जनाएको छ । तत्कालीन एमाले र माओवादीबीच एकतापछि बनेको नेकपाको अध्यक्षको हैपयितले प्रचण्डको यो पहिलो राजनीतिक भ्रमण हो ।

भारत भ्रमणका क्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले द्विपक्षीय हित तथा नेपाल–भारत–चीनबीच त्रिदेशीय साझेदारीका विषयमा छलफल गर्नेछन् । प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहितका उच्च नेतृत्वसँग भेट गर्ने उनको सचिवालयले जनाएको छ ।