दुर्घटनामा ज्यान गुमाउनेका आफन्तलाई बीमाबापत १० लाख

Avatar photo
Dhadingpost
साउन २३, २०७५

काठमाडौ, साउन २३ । तेस्रो पक्ष बीमा शतप्रतिशत बढाउने गरी ५ लाख रुपैयाँ रहेको विद्यमान व्यवस्थालाई परिमार्जन गरी १० लाख रुपैयाँ बनाउन यातायात व्यवस्था विभागले योजना अघि सारेको छ ।

विभागले बीमा रकमसहित प्रिमियिम शुल्क समेत के कति रकमसम्म बढाउन सकिन्छ भनेर बीमा समितिसँग प्रस्ताव माग गरेको छ ।विभागले बुधबार बीमा समितिसँग १५ दिनभित्र तेस्रो पक्ष बीमा रकम बढाउन प्रस्ताव माग गरेको प्रवक्ता तुलसीराम अर्यालले बताए । बीमा रकम बढेसँगै बीमा प्रिमियम पनि बढ्नेछ ।

‘प्रचलित बीमा सम्बन्धित व्यवस्थामा प्रिमियम र तेस्रो पक्ष बीमा वृद्धि हुने रकम खुलाई प्रस्ताव पेश सूचना जारी गरिएको छ’, प्रवक्ता अर्यालले भने, ‘बीमा समितिले प्रस्ताव गरेपछि कति बढाउने भन्ने निर्णय हुन्छ ।

यातायात समितिहरू अस्तित्वमा नरहने भएपछि क्षतिपूर्ति रकम कम पाउने अवस्था आएको छ । त्यसै कारण सरकारले बीमाको प्रिमियम बढाएर क्षतिपूर्ति बढाउन लागिएको हो ।सवारी दुर्घटनामा मृत्यु भए मृतकका परिवारलाई बीमा कम्पनीले हाल ५ लाख रुपैयाँ क्षतिपूर्ति दिने गरेको छ । ५ लाख रुपैयाँ बीमा रकम एकदमै कम भएको गुनासाहरु आएपछि विभागले यसलाई शतप्रतिशत बढाउने गरी तयारी शुरु गरेको हो ।