
धादिङबेसी जेष्ठ ३० । वैज्ञानिक कार्ल ल्याण्डस्टिनरको जन्मदिन १४ जुनको अवसर वा रक्तदाता दिवसको अवसरमा एड्भान्स एकेडेमी धादिङले रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
मानव रगत समूह पत्ता लगाउने वैज्ञानिक कार्ल ल्याण्डस्टिनको जन्म दिनलाई विश्व रक्तदाता दिवस मनाइदै आएको र यस विशेष दिनमा नेपाल युवा रेडक्रस सर्कल एड्भान्स एकेडेमीले रक्तदान कार्यक्रम आयोजना गरेको प्रिन्सिपल गोविन्द बुढाथोकिले बताए ।
रक्तदान गर्नका लागि सामान्यतया ४५ केजी तौल भएको कम्तीमा पनि १८ वर्ष र बढीमा ६० वर्ष नकटेको दीर्घ रोग तथा संक्रामक रोग नरहेको जो कोहीले पनि विहिबार बिहान १० बजे देखि एड्भान्स एकेडेमी परिसरमा आएर रक्तदान गर्न सक्ने समेत प्रिन्सपल बुढाथोकीले बताए ।
जीवनदान दानका रुपमा लिइने रक्तदान कार्यक्रमलाई प्रभावकारी बनाउन नेपाल रेडक्रस सोसाइटी धादिङ, रेडक्रस सोसाइटी नीलकण्ठ उपशाखा धादिङ, नेपाल हृदय रोग निवारण प्रतिष्ठान धादिङ, रोटरी क्लव अफ धादिङ लगायत संघ संस्थाहरुको सहयोग रहेको छ ।
रक्तदान कस्ले गर्ने ?
मानिस जिवित रहनका लागि नभई नहुने तत्व रगत हो । एक स्वस्थ मानिसले हरेक तीन महिनामा रक्तदान गर्दा शरीरमा कुनै हानी नोक्सान नहुने चिकित्सकहरुको भनाई छ ।
एउटा स्वस्थ मानिसले ९० दिनको अत्तरालमा रक्तदान गर्न मिल्छ ।
महिलाहरुले भने महिनावारी भएको अवस्थामा, बच्चा पेटमा भएको अवस्थामा र बच्चाले दुध खाने अवस्थामा बाहेक बर्षको दुई पटक रक्तदान गर्न राम्रो मानिन्छ ।
