
काठमाडौं, जेठ १७ । द्रुत गतिमा घोषणा गरेअनुसारका कामको फेहरिस्त बोकेर विहीबार विहानै सिंहदरबारस्थित कार्यालयमा उपस्थित भएका खेलकुदमन्त्री जगत विश्वकर्माले आफ्ना सय दिनका कामका कागज देखाए ।
खेलाडीका कोठाभरी मेडल हुने तर बिरामी हुँदा उपचार गर्ने रकम पनि नहुने व्यवाहारिक समस्या सम्बोधनका लागि भत्ता सुविधा व्यवस्था गरिएको प्रस्ट्याउँदै थपे,‘सुरुआत हो, हरेक बर्ष बृद्धि गर्छौं ।’
कर्मचारी, पत्रकार र मन्त्रालयका सम्बन्धित निकायका प्रमुखहरूमाझ उनले भने,‘खेलाडीको अवस्था नाजुक छ । त्यसैले स्वर्ण पदक ल्याउनेलाई ५ हजार, ओलम्पियनलाई ३ हजार मासिक भत्ताको व्यवस्था गरेका छौं ।’
२ चैतमा मन्त्री नियुक्त भएका विश्वकर्माले २३ चैतमा ३७ बुँदे लक्ष्यसहितको काम गर्ने वाचा गरेका थिए । त्यहि विषयका कार्यप्रगतिका कागजहरू बाँड्दै बुँदागत रूपमा नै प्रस्तुत गरेका उनले खेलकुद क्षेत्रमा अझै धेरै काम गर्न बाँकी रहेको पनि बताए ।
माताहतमा रहेका युवा स्वरोजगार, युवा परिषद, राष्ट्रिय खेलकुद परिषदका कार्यप्रगतिका बारेमा जानकारी दिँदै उनले एउटा साप्ताहिक पत्रिकाले मन्त्रीको मुल्याङ्कन गरेकोमा आफु हर्षित भएको व्यंग्य गर्दै भने,‘राम्रा र नराम्रा मन्त्रीको सूचीमा म पनि नालायकहरूमा परेछु । धन्यवाद छ पत्रिकालाई ।’
उनले राम्रा र नराम्रा काम खुट्याउँदै समाचार संप्रेशषण गर्न आग्रह गर्दै थपे,‘राम्रो मुल्यांकन गरिदिनुहोस् । नराम्रो भए त्यो पनि भनिदिनुहोस् । सत्य र तथ्यका आधारमा विश्लेषण गरी सहयोग गरिदिनु होला ।’
युथ भिजन २०२५ को कार्यान्वयन कार्ययोजना तर्जुमामा पनि प्रगति भएको बताइएको थियो । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्ट, युवा परिषद्का उपाध्यक्ष माधव ढुंगेललगायतको सहभागीता रहेको थियो ।
खेलकुदका राष्ट्रिय संघहरुको अभिलेख तयारी, पूर्वाधार निर्माण तथा सञ्चालनमा सार्वजनिक निजी साझेदारीको सम्भावित अध्ययन, मुलपानी क्रिकेट मैदान निर्माण, राष्ट्रिय खेलकुद नीति परिमार्जनमा पनि भएका कार्यप्रगतिको विवरण मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा पेस गरियो ।
तुल्सीपुर र इटहरीलाई स्पोर्टसीटिको रूपमा विकास गर्ने सम्भाव्यता अध्ययन मन्त्रालयले पुरा गरिसकेको छ । पोखराको भने अध्ययन जारी रहेको जनाइएको छ ।
