धादिङबेसीमा ल्होसार धुमधामले मनाईयो

Avatar photo
Dhadingpost
बिहिबार, माघ ८, २०७१

aaaमाघ ८ धादिङबेसी । घोडा वर्षको बिदाइ र भेडा बर्षको स्वागत गर्दै तामाङ समुदायले २८५१ औं सोनाम ल्होसार हर्सोल्लासका साथ मनाएका छन् । नेपाल तामाङ घेदुङ जिल्ला कार्य समिति धादिङले ‘२८५१औं ल्हुक ल्होछार तामाङ एकताको प्रतिकको रुपमा पूर्ण अधिकारसहितको तामाङ समूदायको अधिकार स्थापित गर्न भन्दै विशेष कार्यक्रमको आयोजना गरी ल्होसार मनाएका हुन् ।
धादिङवेसीमा आयोजित ल्होसार विशेष कार्यक्रममा संविधानसभाका सदस्य दिलमान पाख्रिनले पुरानो वर्षको अन्त र नयाँ वर्षको सुरुवातको रुपमा ल्होसारलाई भव्य रुपले मनाइएको बताउनुभयो । नेपाल तामाङ घेदुङका केन्द्रिय सल्लाहकार समेत रहनुभएका संविधानसभाका सदस्य तामाङले ल्होसार मनाउँदै गरका लाखौं समूदायलाई आफ्नो परम्परा र संस्कृतिको जगेर्ना गर्न आग्रह गर्नुभएको थियो । कार्यक्रममा शुभकामना दिनुहँदै सभासद् तामाङले नेपाल बहु भाषा र धर्मको देश भएकोले कसैले कसैमाथि धर्मको नाममा लाद्ने काम गर्न नहुने समेत बताउनुभयो । सभासद तामाङले आफूहरु धर्म निरपेक्षता र स्वतन्त्रताको मुद्धावाट पछि नहट्ने समेत बताउनुभयो । संविधानसभामा भईरहको घटनाक्रमबारे बोल्नुहुँदै उहाँले सहमति विना नेपालको संविधान जारी गर्न नसकिने समेत उल्लेख गर्नुभएको थियो । नेपालमा रहेका सबै जात जाति भाषा, क्षेत्र र लिङ्गलाई समेट्ने गरी नै संविधान बनाउनुपर्छ । असहमतिमा बनाइएको संविधान धेरै टिक्दैन म व्यक्तिगत रुपमा सबैसंग सहमति गर्नुपर्छ भनने पक्षमा छु सभासद तामाङले भन्नुभयो ।
कार्यक्रममा जिल्लामा क्रियाशील विभिन्न राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधिहरु, सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रतिनिधिहरुले पर्वको अवसरमा शुभकामना दिएका थिए । बौद्र्ध धर्मालम्बी तथा तामाङ सुभेच्छुकहरुको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा तामाङ कलाकारहरुले तामाङ संस्कृतिको जगेर्ना गर्ने विभिन्न गीत तथा नृत्य प्रस्तुत गरी भुपुर मनोरंजन दिएका थिए । सो अवसरमा धादिङवेसी पुछारबजारबाट सांस्कृतिक झाँकीसहितको ¥याली निकालिएको थियो । त्यसैगरी आजै गजुरी गाउँ विकास समिति वडा नं. २ स्थित टसी छोइलिङ गुम्बा, किरान्चोक गाउँ विकास समितिको तिलार लोदासाङ छोइलिङ गुम्बा लगायतका गुम्बाहरुमा पनि विशेष कार्यक्रमको आयोजना गरी २८५१ औं ल्होसार पर्व मनाएको छ । ल्होसार पर्वको अवसरमा स्थानीय कलाकारहरुको वेजोड प्रस्तुती रहेको हाम्रा सहकर्मी ओम तामाङले जानकारी दिनुभएको छ ।