
धादिङ । धादिङको रुबी भ्याली गाउँपालिका–४, बराङमा आयोजित प्रथम कामी टासी स्मृति कप–२०८३ भलिबल प्रतियोगिताको पुरुषतर्फको उपाधि माछापुच्छ्रे पोखरा र महिलातर्फको उपाधि खनियाबास गाउँपालिकाले जितेका छन् ।
प्रतियोगिताको पुरुषतर्फ सिङ्ला दिव्य युवा क्लब दोस्रो र खनियाबास गाउँपालिका तेस्रो भएका छन् । त्यसैगरी, महिलातर्फ सिङ्ला दिव्य युवा क्लब दोस्रो र खनियाबासको लालिगुराँस युवा क्लब तेस्रो भएका छन् ।
प्रतियोगिताको समापन कार्यक्रममा पूर्वगृहमन्त्री बुद्धिमान तामाङ, प्रतिनिधिसभा सदस्य सरस्वती लामा, बागमती प्रदेशसभा सदस्य डम्बर तामाङ, रुबी भ्याली गाउँपालिका–४ का वडाध्यक्ष प्रशान्त तामाङलगायतको उपस्थिति रहेको थियो ।
पुरुषतर्फ विजेतालाई २ लाख रुपैयाँ
पुरुषतर्फ प्रथम हुने माछापुच्छ्रे पोखराले २ लाख रुपैयाँ, दोस्रो हुने सिङ्ला दिव्य युवा क्लबले ७५ हजार रुपैयाँ र तेस्रो हुने खनियाबास गाउँपालिकाले ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । सान्त्वना स्थान हासिल गर्ने टोलीले १० हजार रुपैयाँ पाएको छ ।
त्यसैगरी, महिलातर्फ प्रथम हुने खनियाबास गाउँपालिकाले २० हजार रुपैयाँ, दोस्रो हुने सिङ्ला दिव्य युवा क्लबले १० हजार रुपैयाँ र तेस्रो हुने लालिगुराँस युवा क्लबले ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । सान्त्वना स्थान हासिल गर्ने टोलीले २ हजार ५०० रुपैयाँ पाएका छन् ।
को हुन् कामी टासी ?
कामी टासी पूर्वगृहमन्त्री बुद्धिमान तामाङका हजुरबुबा हुन् । सामाजिक सेवामा उल्लेखनीय भूमिका निर्वाह गरेका टासीको पहलमा उत्तरी धादिङको विकासले गति लिएको आयोजकको भनाइ छ ।
उनको योगदानको स्मरण र सम्मान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको सिङ्ला दिव्य युवा समाजले जनाएको छ । समाजले आगामी वर्षहरूमा पनि कामी टासीको स्मृतिमा प्रतियोगितालाई निरन्तरता दिने योजना बनाएको छ ।
प्रतियोगितामा करिब १० लाख रुपैयाँ खर्च
प्रथम कामी टासी स्मृति कप–२०८३ सञ्चालनका लागि करिब १० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको थियो । रुबी भ्याली गाउँपालिका–५ को वडा कार्यालयबाट ५ लाख रुपैयाँ सहयोग प्राप्त भएको र बाँकी रकम बुद्धिमान तामाङको परिवारसहित विभिन्न सहयोगदाताबाट संकलन गरिएको क्लबका सचिव रेका तामाङले बताए ।










