बेनीघाट रोराङमा यू–२० फुटबलको उपाधि भद्रकाली युवा क्लबलाई

Avatar photo
Dhadingpost
भदौ १, २०८३

धादिङ । बेनीघाट रोराङ गाउँपालिका स्थित विशाल खेलमैदानमा भएको यू–२० फुटबल प्रतियोगिताको उपाधि भद्रकाली युवा क्लब, मलेखुले जितेको छ । प्रतियोगिताको फाइनलमा गण्डकी युवा क्लब, सिउरेनिटार उपविजेता बनेको छ ।

युवाहरूको खेल प्रतिभा विकास तथा फुटबलप्रति आकर्षण बढाउने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा १६ वटा टोलीको सहभागिता रहेको थियो । प्रतियोगिता बेनीघाट युवा क्लबको आयोजनामा सञ्चालन गरिएको हो ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै भद्रकाली युवा क्लब मलेखुले विजेताको उपाधि हात पारेको हो । गण्डकी युवा क्लब सिउरेनिटारले उपविजेतामा चित्त बुझाएको छ ।

उपाधि विजेता भद्रकाली युवा क्लबले नगद २० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ भने उपविजेता गण्डकी युवा क्लबले ८ हजार रुपैयाँ प्राप्त गरेको छ ।

प्रतियोगिताले युवा खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गरेको आयोजकले जनाएको छ । स्थानीय स्तरमा नियमित रूपमा यस्ता प्रतियोगिता सञ्चालन हुँदा युवाहरूलाई खेलकुदमा आकर्षित गर्नुका साथै नयाँ खेलाडी उत्पादनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।