
धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धादिङको र्यापिड एक्सन टिम (र्याट) ले गरेको छड्के जाँचपछि नीलकण्ठ नगरपालिका–स्थित दुवाडी एग्रोभेटमा बिक्री भइरहेको भारतीय रासायनिक मलमाथि सरकारी अनुगमन गरिएको छ ।
अनुगमनका क्रममा खरिद तथा बिक्रीसम्बन्धी बिल तत्काल प्रस्तुत गर्न नसकिएपछि सम्बन्धित मल शिल गर्दै अर्को निर्णय नभएसम्म बिक्री नगर्न निर्देशन दिइएको छ ।
रास्वपा धादिङका अनुसार दुवाडी एग्रोभेटमा भारतीय रासायनिक मल बिक्री भइरहेको सूचना प्राप्त भएपछि र्याटका सदस्य दुर्गा वस्तीलाई ग्राहकका रूपमा मल खरिद गर्न पठाइएको थियो । मल खरिद गरेपछि उनले खरिद बिल माग्दा एग्रोभेटले बिल उपलब्ध गराउन नमिल्ने जनाएको रास्वपाको दाबी छ ।
त्यसपछि रास्वपा धादिङका अध्यक्ष दीपक अधिकारी, र्याट सदस्य दुर्गा बस्ती, राम तामाङलगायतका नेता तथा कार्यकर्ता मलको बोरा लिएर भेट्न जिल्ला प्रशासन कार्यालय पुगेका थिए । प्रमुख जिल्ला अधिकारीलाई भेटेर बजारमा बिक्री भइरहेको उक्त मलको तत्काल अनुगमन गर्न आग्रह गरेका थिए ।
उजुरीपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोली दुवाडी एग्रोभेटमा पुगेर अनुगमन गरेको थियो ।
एग्रोभेट सञ्चालक बोनाथ दुवाडीले भने १७० बोरा भारतीय रासायनिक मल आएको र किसानको अत्यधिक मागका कारण आफूले प्रतिवोरा दुई हजार ७५० रुपैयाँमा खरिद गरी दुई हजार ९०० रुपैयाँमा बिक्री गरेको बताएका छन् । उनले यो कुनै कम्पनी वा संस्थाबाट किनेको होईन थर्डपार्टीबाट आएको हुँदा खरिद तथा बिक्री नभएको स्पष्ट पारे ।
अनुगमन टोलीले खरिद तथा बिक्री नदेखाइएकाले सम्बन्धित मल शिल गर्दै अर्को निर्णय नभएसम्म बिक्री नगर्न निर्देशन दिएको जनाएको छ । अब थप छानबिनपछि आवश्यक निर्णय गरिने बताइएको छ ।
र्याट धादिङका अध्यक्ष दीपक अधिकारीले दुवाडी एग्रोभेट नीलकण्ठ नगरपालिका–७, १२ र १३ वडामा सरकारी अनुदानको रासायनिक मल वितरण गर्ने आधिकारिक डिलरसमेत रहेको उल्लेख गर्दै सरकारी मल अभाव भइरहेका बेला बिलबिनाको भारतीय मल बिक्री हुनु गम्भीर विषय भएको बताए ।
उनले किसानले सहज रूपमा सरकारी अनुदानको मल नपाइरहेको अवस्थामा बिलबिनाको मल बिक्री हुनु किसानको हितविपरीत भएको भन्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।
