धादिङका अरुण सिलवालले तोडे ऐतिहासिक कीर्तिमान, आठाैं सेमेस्टरसम्म लगातार ४ जिपिए

Avatar photo
Dhadingpost
जेष्ठ २, २०८३

धादिङ । धादिङको सिद्धलेक गाउँपालिका–१ बैरेनी निवासी अरुण सिलवालले पोखरा विश्वविद्यालयमा नयाँ इतिहास रचेका छन् । सिभिल इञ्जिनियरिङ अध्ययनरत सिलवालले आठाैंसेमेस्टरसम्म लगातार ४ जिपिए ल्याउँदै विश्वविद्यालयको यसअघिको कीर्तिमान तोडेका हुन् ।

पोखरा विश्वविद्यालयको स्कूल अफ इन्जिनियरिङ (SOE) अन्तर्गत अध्ययनरत सिलवाल ईन्जिनियरिङ संकायका पहिलो विद्यार्थी बनेका छन्, जसले आठाैं सेमेस्टरसम्म निरन्तर ४ जिपिए कायम राख्न सफल भएका छन् । उनको यो उपलब्धिलाई विश्वविद्यालयकै ऐतिहासिक शैक्षिक उपलब्धिका रूपमा हेरिएको छ ।

अरुणले विद्यालय तहदेखि नै उत्कृष्ट नतिजा हासिल गर्दै आएका छन् । उनले नलाङ मिन्दुकाबाट एसईई परीक्षा दिँदा पालिकामै उत्कृष्ट नतिजा ल्याएका थिए भने प्लस टु अध्ययनका क्रममा बागेश्वरी माध्यमिक विद्यालय बाट बोर्ड परीक्षामा जिल्ला टप गर्न सफल भएका थिए ।

हाल आठाैं सेमेस्टरसम्म आइपुग्दा पनि उनले आफ्नो उत्कृष्टता कायम राख्दै लगातार ४ जिपिए ल्याएका छन् ।

पोखरा विश्वविद्यालयको नियम अनुसार आठौं सेमेस्टरसम्म समग्रमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीले राष्ट्रपतिको हातबाट गोल्ड मेडल ग्रहण गर्ने अवसर पाउने व्यवस्था छ ।