
धादिङको खेलकुद क्षेत्रबाट अन्तर्राष्ट्रिय तहसम्म आफ्नो पहिचान बनाउँदै गएका प्रदीप गिरीको यात्रा साधारण होइन- यो निरन्तर संघर्ष, अनुशासन र समर्पणले बनेको कथा हो । त्रिपुरासुन्दरी गाउँपालिकाका स्थानीय गिरी आज धादिङ मात्र होइन, समग्र नेपाली तेक्वान्दो क्षेत्रमा चिनिने नाम बन्न सफल भएका छन् ।
उनले सिकाएका खेलाडीहरुले धादिङमा १०० जना भदा बढी खेलाडीहरुले ब्लाक बेल्ट लिई सके भने दुई जना डोजाङ प्रशिक्षकका रुपमा छन् ।

सुरुवातदेखि अन्तर्राष्ट्रिय यात्रासम्म
२०६१ सालबाट तेक्वान्दो खेल्न सुरु गरेका गिरीले प्रारम्भिक दिनमा स्थानीय स्तरमै अभ्यास र प्रशिक्षणमा समय बिताए । तर उनी त्यतिमै सीमित भएनन् । निरन्तर मेहनत, प्रतिस्पर्धा र सिकाइले उनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितासम्म पुर्यायो ।
उनले २०७९ फागुनमा हङकङमा आयोजित २७ औं एशियन सिटिज तेक्वान्दो प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेका थिए भने २०८१ असारमा थाइल्याण्डमा सम्पन्न छैटौं हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा पनि सहभागिता जनाए । बंगलादेश लगायत विभिन्न देशमा पुगेर खेल अनुभव सँगालेका गिरीले आफ्नो क्षमतालाई विश्वस्तरमा प्रमाणित गर्ने प्रयास जारी राखेका छन् ।

खेलाडी मात्र होइन, नेतृत्वकर्ता पनि
गिरीको भूमिका केवल खेलाडीमै सीमित छैन । उनी प्रशिक्षक, डोजाङ प्रमुख, अन्तर्राष्ट्रिय रेफ्री हुँदै नेतृत्व तहसम्म पुगेका छन् ।
नेपाल तेक्वान्दो संघ धादिङको दुई कार्यकाल अध्यक्ष भई उनले जिल्लाको तेक्वान्दो विकासमा महत्वपूर्ण योगदान दिएका छन् ।
२०७८ असार ३० मा पहिलो पटक अध्यक्ष चयन भएका गिरी पुनः २०७८ साउन २९ मा निर्वाचित भएका थिए । उनको कार्यकालमा धादिङमा तेक्वान्दो गतिविधि विस्तार, खेलाडी उत्पादन र प्रतियोगिता व्यवस्थापनमा उल्लेखनीय सुधार आएको खेलकर्मीहरू बताउँछन् ।

उपलब्धि र पहिचान
८ औं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत प्रदेश नं. ३ को छनोटमा गिरीले धादिङका लागि स्वर्ण पदक जितेर आफ्नो खेल क्षमता देखाएका थिए ।
यस्तै, उनले धादिङ जिल्लामै पहिलो पटक पाँचौं “डान” लाइसेन्स प्राप्त गर्ने खेलाडीका रूपमा समेत पहिचान बनाएका छन् । सोही वर्ष २०८० मा नेपाली सेनामा कार्यरत नीलकण्ठका राम पोखरेलले पनि उक्त उपलब्धि हासिल गरेका थिए ।

विदेशमा पनि निरन्तरता
हाल अष्ट्रेलियामा रहेका गिरी त्यहाँ पनि तेक्वान्दोमै सक्रिय छन् । उनले विभिन्न प्रतियोगितामा रेफ्रीको भूमिका निर्वाह गर्दै अन्तर्राष्ट्रिय स्तरमा नेपाली खेलकुदको प्रतिनिधित्व गरिरहेका छन् । खेलाडीबाट रेफ्रीसम्मको यात्रा तय गर्नु उनको अनुभव र दक्षताको प्रमाण हो ।

गुरुप्रति सम्मान
गिरी आफ्नो सम्पूर्ण सफलता आफ्ना गुरु रमेशमान तुलाधरलाई समर्पित गर्छन् । उनले सिकाएको अनुशासन, मिहिनेत र खेलप्रतिको समर्पण नै आफूलाई यहाँसम्म ल्याएको गिरी बताउँछन् ।
स्थानीय डोजाङबाट सुरु भएको यात्रा आज अन्तर्राष्ट्रिय रंगशालासम्म पुगेको छ । प्रदीप गिरीको कथा केवल व्यक्तिगत सफलता होइन- यो धादिङको खेलकुद सम्भावनाको उदाहरण पनि हो ।
उनको यात्रा अझै जारी छ, र भविष्यमा उनीबाट नेपाली तेक्वान्दोले थप उचाइ हासिल गर्ने अपेक्षा गर्न सकिन्छ ।






