बागमती प्रदेश उपमेयर कपमा गंगाजमुना डोजाङको उत्कृष्ट प्रदर्शन

Avatar photo
Dhadingpost
बैशाख १३, २०८३

धादिङ । तेस्रो बागमती प्रदेश काठमाडौं महानगर उपमेयर कप खुला तेक्वान्दो च्याम्पियनसिपमा धादिङको गंगाजमुना गाउँपालिका तेक्वान्दो डोजाङका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेका छन् ।

तेक्वान्दो प्रशिक्षक तथा रेफ्री धनबहादुर तामाङका अनुसार प्रतियोगितामा डोजाङबाट ६ जना खेलाडी सहभागी भएका थिए । फाइट विधातर्फ २०–२३ केजी तौल समूहमा सन्दिप तामाङ, २३–२६ केजीमा शुभास तामाङ र २६–३० केजीमा मनिष तामाङले प्रथम स्थान हासिल गर्दै स्वर्ण पदक जित्न सफल भएका छन् । सोही २६–३० केजी तौल समूहमा विवेक तामाङले द्वितीय स्थान प्राप्त गरेका छन् ।

यस्तै, पुम्से विधातर्फ १७ वर्षमुनि समूहमा बुदिलाल तामाङ द्वितीय र १५ वर्षमुनि समूहमा बिशन तामाङ तृतीय भएका छन् ।

प्रतियोगितामा गंगाजमुना डोजाङका खेलाडीहरूले हासिल गरेको उपलब्धिले धादिङको खेलकुद क्षेत्रमा उत्साह थपेको प्रशिक्षक तामाङले बताए । उनले आगामी दिनमा अझ राम्रो नतिजाका लागि खेलाडीहरू निरन्तर प्रशिक्षणमा जुटिरहेको जानकारी दिए ।