
काठमाडौं । आज वैशाख १३ गते नेपालभर ९९औं राष्ट्रिय फोटो पत्रकारिता दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । फोटो पत्रकारिताले दृश्यमार्फत समाचारको सार प्रस्तुत गर्ने महत्वपूर्ण माध्यमका रूपमा स्थापित हुँदै आएको छ ।
एक उत्कृष्ट तस्बिरले समाचारीय मूल्य मात्र होइन, अनेक प्रश्नहरूको उत्तर समेत बोकेको हुन्छ। फोटो पत्रकारितामा सिप, कौशल, प्रविधि र प्रकाशको सन्तुलित संयोजन आवश्यक पर्ने भएकाले यस क्षेत्रलाई चुनौतीपूर्ण र सिर्जनात्मक मानिन्छ । त्यसैले फोटो पत्रकारमा चीलजस्तो तीक्ष्ण दृष्टि, बकुल्लाजस्तो धैर्यता र घोडाजस्तो ऊर्जा आवश्यक हुने बताइन्छ ।
पछिल्लो समय हरेक व्यक्तिको हातमा मोबाइल फोन पुगेपछि क्यामेराको पहुँच विस्तार भए पनि व्यावसायिक फोटो पत्रकारिताको महत्व अझै उत्तिकै रहेको सरोकारवालाहरू बताउँछन् ।
नेपालमा फोटो पत्रकारिताको इतिहास करिब एक शताब्दी पुरानो मानिन्छ । डम्बरशमशेरले पहिलो पटक नेपालमा क्यामेरा भित्र्याएको उल्लेख पाइन्छ भने नाट्यसम्राट बालकृष्ण समलाई प्रारम्भिक कालका उत्कृष्ट फोटोग्राफरका रूपमा चिनिन्छ ।
नेपालमा प्रकाशित पहिलो फोटोका विषयमा केही मतभेद भए पनि वि.सं. १९८४ साल वैशाख १३ गते गोरखापत्रमा ‘विविध विषय’ शीर्षक अन्तर्गत प्रकाशित आलेखमा समावेश गरिएको तस्बिरलाई औपचारिक रूपमा पहिलो समाचारीय फोटो मान्ने गरिएको छ । उक्त तस्बिरमा वीरगञ्जकी सूर्यमती श्रेष्ठनीले चर्खामा धागो कातिरहेको दृश्यसहित स्पष्ट क्याप्सन प्रकाशित गरिएको थियो ।
यद्यपि, वि.सं. १९८३ साल साउन १८ गते गोरखापत्रमा तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेर जबराको जन्मदिनको अवसरमा प्रकाशित तस्बिरलाई पहिलो फोटो मान्नुपर्ने आवाज पनि बेला–बेलामा उठ्ने गरेको छ । तर समाचारीय मूल्यसहितको फोटोलाई प्राथमिकता दिँदै वैशाख १३ गतेलाई राष्ट्रिय फोटो पत्रकारिता दिवसका रूपमा मनाउने परम्परा स्थापित भएको हो ।
नेपाल पत्रकार महासंघ, राष्ट्रिय फोटो पत्रकार समूह र फोटो पत्रकार क्लबले प्रत्येक वर्ष विविध कार्यक्रम आयोजना गरी यो दिवस मनाउँदै आएका छन् ।
विश्व स्तरमा भने सन् १८३९ अगस्ट १९ मा फ्रान्स सरकारले फोटोग्राफीलाई औपचारिक मान्यता दिएको दिनको सम्झनामा सन् २०१० देखि विश्व फोटोग्राफी दिवस पनि मनाउने गरिन्छ ।
यस अवसरमा फोटो पत्रकारहरूले आफ्नो पेशागत दक्षता अभिवृद्धि गर्दै समाजमा सत्य, तथ्य र यथार्थ दृश्य प्रस्तुत गर्न अझ सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन् । फाईल तस्वीर
