
धादिङ । नेपाली कांग्रेस धादिङ क्षेत्र नम्बर–२ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार रमेशप्रसाद धमलाले मतदाता भेटघाट कार्यक्रम आजबाट सुरु गर्ने भएका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार धमलाले आफ्नो मतदाता भेटघाट कार्यक्रम ज्वालामुखी गाउँपालिकाबाट सुरु गर्ने तय भएको नेपाली कांग्रेस धादिङका सहसचिव तथा निर्वाचन प्रचार–प्रसार समितिका संयोजक नवराज तिमल्सिनाले जानकारी दिए ।
तिमल्सिनाका अनुसार धादिङ क्षेत्र नम्बर–२ अन्तर्गत रहेका सबै पालिका तथा तीभित्रका ५१ वटै वडा र टोलबस्ती समेट्ने गरी मतदाता भेटघाटको विस्तृत कार्यतालिका तयार भइसकेको छ। सोही तालिका अनुसार उम्मेदवार धमलाको टोली घरदैलो तथा प्रत्यक्ष भेटघाट अभियानमा खटिनेछ ।
उनले निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारको जित सुनिश्चित गर्न विभिन्न समिति गठन भइसकेको र सबै समितिहरूले आ–आफ्नो कार्ययोजना अनुसार सक्रिय रूपमा काम अगाडि बढाइसकेको पनि बताए ।
कांग्रेसले मतदाता भेटघाटमार्फत जनताका समस्या, अपेक्षा र सुझाव प्रत्यक्ष रूपमा सुन्ने र तिनका आधारमा चुनावी एजेण्डा थप परिष्कृत गर्ने लक्ष्य लिएको जनाएको छ ।
