बेनीघाट रोराङमा ‘एक घर–एक प्राथमिक उपचारक’ कार्यक्रम शुभारम्भ

Avatar photo
Dhadingpost
मंसिर १, २०८२

धादिङ। बेनीघाट रोराङ गाउँपालिकाले स्वास्थ्य सेवामा पहुँच बढाउने उद्देश्यसहित ‘एक घर–एक प्राथमिक उपचारक कार्यक्रम’ औपचारिक रूपमा सुरु गरेको छ। गाउँपालिकाको आर्थिक सहयोग र राष्ट्रका लागि प्राविधिक सहयोगमार्फत सञ्चालन हुने यस कार्यक्रमलाई आज वडा नं. ३ ओर्वाङस्थित ओर्वाङ आबिबाट शुभारम्भ गरिएको हो।

कार्यक्रमको उद्घाटन गाउँपालिका अध्यक्ष कृष्णबहादुर थपलिया (विवेक) ले गर्नुभयो। गाउँपालिकाका सबै वडामा क्रमिक रूपमा कार्यान्वयन गरिने यस अभियानमार्फत घर–घरमा आधारभूत स्वास्थ्य सेवा, प्राथमिक उपचार सीप र जनस्वास्थ्य सम्बन्धी सचेतना विस्तार गरिने जनाइएको छ।

अध्यक्ष थपलियाले स्थानीय तहबाटै स्वास्थ्य सेवा सुदृढ गर्न यस्तो कार्यक्रम महत्वपूर्ण हुने भन्दै आगामी दिनमा स्वास्थ्य क्षेत्रमा अझ प्रभावकारी कार्यक्रम ल्याइने बताउनुभयो।

गाउँपालिकाले यो कार्यक्रमलाई दीगो रूपमा विस्तार गर्दै स्थानीय स्वास्थ्य पूर्वाधार र जनशक्तिको क्षमता अभिवृद्धिमा पनि जोड दिने जनाएको छ।