
धादिङ । धादिङको नेत्रावती डवजोङ गाउँपालिका १ स्थित श्री निरञ्जना माध्यमिक विद्यालयका सहयोगी भक्तबहादुर अधिकारी (भक्त दाइ) ले करिब पाँच दशकसम्म विद्यालयमा सेवा गरे। उहाँको समर्पण र सादगीको जीवनले विद्यालयका शिक्षक र विद्यार्थी सबैको मन जित्यो।
विद्यालयको प्रत्येक बिहान उहाँको उपस्थितिबाट सुरु हुन्थ्यो। साँझ ढोका बन्द गरेर मात्रै उहाँ घर फर्किनुहुन्थ्यो।
खानेपानीको समस्या हुँदा उहाँले बगलुङ खोलाबाट पानी बोकेर विद्यालय ल्याउनुहुन्थ्यो।
यातायातको सुविधा नहुँदा उहाँले जिल्लाबाट परीक्षा प्रश्नपत्र पैदल बोकेर ल्याउने जिम्मेवारी समेत सम्हाल्नुभयो।
शिक्षक अनुपस्थित हुँदा विद्यार्थीलाई कथा र कविता सुनाएर कक्षा सञ्चालन गर्नुहुन्थ्यो।
करिब पाँच दशक लामो सेवापछि विद्यालयले उहाँलाई सम्मानसहित बिदाइ गर्यो। तर, बिदाइको बेला उहाँको हातमा न पेन्सन थियो, न उपदान। उहाँसँग थियो केवल थकित शरीर र मुस्कानभित्र लुकेको पीडा। फूलमालाले सजिएको अनुहारमा मुस्कान त थियो, तर त्यो मुस्कानभित्रको व्यथा सबैको मन पोल्ने खालको थियो।
यसबीच, पूर्व विद्यार्थीहरूले भक्तबहादुर अधिकारी सम्मानका लागि सहयोग अभियान सुरु गरेका छन्।
उनीहरूले सबै पूर्व विद्यार्थी र सहयोगी मनहरूलाई यो अभियानमा जोडिन आह्वान गरेका छन्।
