अमेरिका स्थित कोलोराडोमा दीप प्रज्वलन तथा शोकसभा सम्पन्न

Avatar photo
Dhadingpost
भदौ २४, २०८२

नातिबाबु भट्ट
कोलोराडो, अमेरिका ।
नेपालमा शान्तिपूर्ण आन्दोलनका क्रममा ज्यान गुमाएका जेनजी युवाको सम्झनामा अमेरिका स्थित कोलोराडोमा दीप प्रज्वलन तथा शोकसभा सम्पन्न भएको छ ।

एनआरएनए कोलोराडो च्याप्टरको आयोजनामा तथा स्थानीय संघ–संस्था र नेपालीभाषी समुदायका जेनजी पुस्ताका युवायुवतीहरूको सक्रिय सहभागितामा कार्यक्रम सम्पन्न भएको हो । नेपाली सांस्कृतिक केन्द्र नेपाली घर को प्राङ्गणमा साँझ ७:३० बजे सुरु भएको कार्यक्रममा सुरुमा एक मिनेट मौनधारण गरी दिवंगत युवाहरूलाई श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

कार्यक्रममा एनआरएनए कोलोराडो च्याप्टरका पदाधिकारी, एनआरएनए एनसीसीका प्रतिनिधि, स्थानीय संघ–संस्थाका पदाधिकारी र जेनजी पुस्ताका युवाहरूले शोक मन्तव्य राख्दै निर्दोष युवाको बलिदानलाई सम्मान गरेका थिए । उनीहरूले आत्माको चीरशान्तिका लागि दीप प्रज्वलन गर्दै सरकारको दमनकारी कदमप्रति आपत्ति जनाएका थिए ।

विशेषगरी जेनजी पुस्ताले यो बलिदानले भ्रष्टाचार र दमनविरुद्धको संघर्षलाई अझ सबल बनाएको र पुरानो पुस्ताका भ्रष्ट राजनीतिक संस्कृतिबाट देशले मुक्ति खोजिरहेको विचार व्यक्त गरे ।

अमेरिकाका अन्य राज्य र शहरहरूमा पनि यस्तै प्रकृतिका श्रद्धाञ्जली कार्यक्रम नेपाली समुदायले आयोजना गरिरहेका छन् ।