
धादिङ । धादिङबेसीमा यहि जेष्ठ ३ देखि ५ गते सम्म संचचालन भएको १४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डमा विजेता खेलाडीहरुलाई गजुरी गाउँपालिकाले नगद सहित सम्मान गरेको छ ।
शिक्षा शाखाले आयोजना गरेको उक्त कार्यक्रममा पालिका अध्यक्ष गणेशलाल श्रेष्ठले गजुरीबाट सहभागी भई जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा स्वर्ण विजेता मुनाल एकेडेमीका विद्यार्थीद्वय रितिक घले र सुदिप घले, आदर्श माविका प्रेमलाल श्रेष्ठ, महेन्द्रोदय माविकी सर्मिला तामाङ सहित रजत पदक विजेता १२ जना र कास्य पदक विजेता १४ जनालाई नगद सहित सम्मान गरेका थिए ।
गजुरीले पौष २ गतेदेखि ४ गतेसम्म गजुरी ५ स्थित गलौदी खेल मैदानमा पालिका स्तरीय प्रतियोगिता गरि १४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डका लागि खेलाडी छनोट गरेको थियो । उक्त प्रतियोगितामा १३ स्वर्ण, ११ रजत र ६ कास्य पदक सहित डोल भञ्ज्याङ माविले लगातार तेस्रो जित आफ्नो पक्षमा पार्न सफल भएको थियो । गजुरीले १४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड आफुलाई ४ स्वर्ण, १२ रजत र १४ कास्य सहित ३० पदक ल्याउँदै चौथो स्थानमा राख्न सफल भएको छ । जिल्ला स्तरीय १२ औं मा पनि गजुरी ३ स्वर्ण, ४ रजत र ६ कास्य सहित चौथो नै भएको थियो । पदक तालिकामा यस पटक गजुरीले आफुलाई सुधारेको छ ।
गजुरीका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख एवम् विद्यालय निरिक्षक सन्तोष पौडेलका अनुसार खेलाडीको हौसलाका लागि यो नगद सहित सम्मान गरिएको हो । पालिकाबाट जिल्ला होस या प्रदेश, राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा विजेता खेलाडीहरुलाई समेत नगद सहित सम्मान गर्दै आएको छ । फोटोः गणेश पाण्डे