
धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–२, सिम्लेमा जारी तेस्रो ६ ए साइड खुला नकआउट फुटबल प्रतियोगिताको उपाधिका लागि जनआवाज युवा क्लब माने र आयोजक जनजागरण युवा क्लब (सी) भिड्ने भएका छन् ।
मंगलबार सम्पन्न सेमिफाइनल खेलमा जित निकाल्दै दुवै टोलीले फाइनलमा स्थान पक्का गरेका हुन् । फाइनल खेल भोलि कार्तिक ११ गते बिहान ११ बजे सिम्ले विद्यालयको प्राङ्गणमा हुने आयोजकले जनाएको छ ।
सेमिफाइनलमा जनआवाज युवा क्लब मानेले आयोजक जनजागरण युवा क्लब (बी) लाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । त्यस्तै, आयोजक जनजागरण युवा क्लब (सी) ले जुरेथुमलाई ३ गोलले पराजित गर्दै उपाधि भिडन्तमा स्थान बनाएको छ ।
जनजागरण तमु समाज, सिम्ले (खेलकुद विभाग) को आयोजनामा सञ्चालित प्रतियोगितामा २६ टोलीले सहभागिता जनाएका थिए ।
प्रतियोगिताको विजेताले ७० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ ।
त्यसैगरी प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई पनि मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।










