
धादिङ । धादिङको ज्वालामुखी गाउँपालिका–७, धारापानीमा सम्पन्न १३औँ अनकन्या कप ९-ए साइड फुटबल प्रतियोगिताको उपाधि आयोजक लगनशील युवा क्लबले जितेको छ । सोमबार भएको फाइनल खेलमा मैदी युनाइटेडलाई पराजित गर्दै लगनशीलले उपाधि रक्षा गरेको हो ।
फाइनलमा लगनशीलले मैदी युनाइटेडलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । यसअघि १२औँ संस्करणको उपाधिसमेत जितेको लगनशीलले लगातार दोस्रो पटक प्रतियोगिताको उपाधि आफ्नो पक्षमा पारेको छ ।
जितका लागि लगनशीलका दिवस राईले खेलको १६औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। खेलको २९औँ मिनेटमा सुजन बरालले थप एक गोल गर्दै लगनशीलको अग्रता २–० मा पुर्याए । खेलको ३०औँ मिनेटमा लगनशीलका खेलाडीबाट आत्मघाती गोल भएपछि मैदी युनाइटेडले एक गोल फर्काएको थियो । त्यसपछि थप गोल हुन नसकेपछि लगनशीलले २–१ गोल अन्तरले खेल जित्दै उपाधि हात पार्यो ।
उपाधिसँगै लगनशील युवा क्लबले नगद १ लाख ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता मैदी युनाइटेडले नगद ७५ हजार रुपैयाँमा चित्त बुझाएको छ ।
पुरस्कार वितरण कार्यक्रममा ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यमनाथ दनैको प्रमुख आतिथ्यता रहेको आयोजक संस्थाका सचिव सौरव थापाले जानकारी दिए ।
अनकन्या कपका अघिल्ला विजेता
१२औँ अनकन्या कपमा आयोजक लगनशील युवा क्लबले अनकन्या युवा क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको थियो । त्यसअघि ११औँ संस्करणको उपाधि टार गाउँ युवा क्लब, मुरलीभञ्ज्याङले जितेको थियो। उक्त संस्करणको फाइनलमा टार गाउँले मैदी युनाइटेडलाई १–० गोल अन्तरले पराजित गरेको थियो ।
📸 तस्बिर : देवी सिटाैला
२०६३ सालमा स्थापना भएको लगनशील युवा क्लबले स्थानीय खेल प्रतिभाको पहिचान, खेलाडी उत्पादन तथा खेलकुद क्षेत्रको विकासमा योगदान पुर्याउने उद्देश्यले अनकन्या कप आयोजना गर्दै आएको जनाएको छ ।










