
सिन्धुपाल्चोक। भोटेकोशी गाउँपालिका सिन्धुपाल्चोकद्वारा आयोजित बागमती प्रदेश अन्तरगतका पालिकाहरुको न्यायिक समिति सम्मेलन २०८२ ले ९ बुँदे घोषणा पत्र सार्वजनिक गरेको छ ।
उक्त घोषण पत्रमा न्यायिक प्रणालीलाई थप प्रभावकारी, उत्तरदायी र नागरिकमैत्री बनाउने उद्देश्यका साथ ४ बुँदे प्रतिबद्धता र ५ बुँदे ध्यानाकर्षण उल्लेख गरिएको छ ।
९ बुँदे घोषणा पत्र
(क) हाम्रो प्रतिबद्धताः
१. सबै नागरिकका लागि सस्तो, सहज र द्रुत न्याय सेवामा पहुँच सुनिश्चित गर्नेछौं।
२. प्रत्येक वडामा मेलमिलाप केन्द्र स्थापनासँगै मेलमिलाप संस्कृतिको प्रवर्द्धन गर्नेछौं । ३. न्यायका मान्य सिद्धान्तहरूको पूर्ण पालना गर्नेछौं ।
४. सूचना प्रविधिको प्रयोगमार्फत न्यायिक सेवालाई सहज, छरितो र पारदर्शी बनाउनेछौं ।
(ख) हाम्रो ध्यानाकर्षणः
५. स्थानीय सरकारमा न्यायिक समितिको क्षेत्राधिकार र कार्यविधिमा देखिएको अवधारणागत अन्योलताको अन्त्यका लागि संघीय कानुनद्वारा स्षष्टता कायम गरियोस्।
६. न्यायिक समितिका पदाधिकारी तथा कर्मचारीहरूका लागि निर्धारित पाठ्यक्रममा आधारित तालिमको व्यवस्था गरी आवश्यक दक्ष जनशक्ति सुनिश्चित गरियोस्।
७. वर्तमानमा तोकिएको न्यायिक समितिको क्षेत्राधिकारको पुनर्विचार गरी थप स्पष्ट गरी स्थानीय न्याय प्रणाली अझ सक्षम र व्यावहारिक बनाइयोस्।
८. न्यायिक समितिबाट गरिएका निर्णयहरूको कार्यान्वयन सुनिश्चित गर्न प्रभावकारी कार्यान्वयन संयन्त्र विकास गरियोस् ।
९. न्यायिक समितिलाई स्रोत साधान सहितको समृद्ध बनाईयोस् ।