
काठमाडौँ । डा. शेष घले नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिले आगामी कार्यकालका लागि गराएको एकता महाधिवेशनबाट कांग्रेस निकट महेश श्रेष्ठ अध्यक्ष चयन गरेको छ ।
नवगठित कार्य समितिमा बेल्जियममा व्यवसाय गर्दै आएका धादिङ बुढाथुमका लोकप्रसाद दाहाल, यूएईमा बस्दै आएका बेनीघाट रोराङका मनोज कुमार श्रेष्ठ गोर्खाली उपाध्यक्षमा र कोषाध्यक्षमा धादिङ नीलकण्ठका ठाकुर प्रसाद ढुङ्गाना चयन भएका छन् । यसअघि कोषाध्यक्षको भूमिका निर्वाह गरि सकेका दाहाल, कोषाध्यक्ष ढुङ्गाना माओवादी केन्द्र र गोर्खाली नेपाली कांग्रेस नीकट हुन् ।
परराष्ट्रमन्त्री आरजु राणा देउवा समेतको दबाबमा कांग्रेस निकट श्रेष्ठलाई सर्वसम्मत अध्यक्षमा चयन गरिँदा मध्यपूर्वबाट ठुलो संख्यामा प्रतिनिधिहरु सहित सहभागी अध्यक्ष पदको सशक्त दाबेदार आरके शर्मा व्याक हुनुपरेको थियो ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा खगेन्द्र न्यौपाने, लोकप्रसाद दाहाल, सुनिल कुमार साह, मनोज कुमार श्रेष्ठ, विश्वास लिम्बु र बुद्धिसागर सुवेदी चयन भएका छन् । यस्तै महिला उपाध्यक्षमा जुनु गुरुङ चयन हुँदा महासचिवमा बाबुराम लामा चयन भएका छन् ।
यस्तै सचिवमा टंक गैरे, चिन्तामणि सापकोटा, तिलक गैरे, देवकी गुरुङ चयन हुँदा कोषाध्यक्षमा ठाकुर प्रसाद ढुंगाना सर्वसम्मत भएका छन् । यस्तै सहकोषाध्यक्षमा कृष्ण प्रसाद पोख्रेल चयन भएका छन् ।
एकता महाधिवेशन भनिएपनि हालसम्म एनआरएनएको आधिकारिकता भने बद्री केसी नेतृत्वको एनआरएनएसँगै छ । यो विषय सर्वोच्चमा समेत विचाराधीन रहेको तथा एनआरएनएभित्र स्पष्ट दुई समूह रहेकाले आगामी दिनमा विवाद थप चर्किने जानकारहरूको भनाइ छ ।