
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज काठमाडौंका विभिन्न ठाउँबाट र्याली निकालेर बल्खुमा विरोध कार्यक्रम राखेकोले वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको आग्रह गरेको छ ।
बल्खुमा हुने राप्रपाको प्रदर्शनलाई ध्यान दिँदै ट्राफिक प्रहरीले विभिन्न तीन ठाउँमा डाइभर्सनको व्यवस्था मिलाएको छ । यसअनुसार खसीबजार–मकालु–कलङ्की चोक–बाफलमा डाइभसर्नको एउटा रुट तय गरिएको छ ।
यस्तै बल्खु चोक–कुलेश्वर–कालिमाटी चोक हुँदै टेकुमा अर्को डाइभर्सन मिलाइएको प्रहरीले जनाएको छ । यस्तै कीर्तिपुर–सुन्दरीघाट–सानेपा हुँदै एकान्तकुनामा अर्को डाइभर्सन तोकिएको छ ।
कार्यक्रममा सहभागी हुन आउनेहरूका लागि टीयू गेटदेखि चोभार सडक, सानेपा करिडोर सडक (दुवैतर्फ) र चोभार सुक्खा बन्दरगाहमा पार्किङको व्यवस्था मिलाइएको छ ।
नयाँबसपार्क र सीतापाइला–बाफल सडकखण्डमा एक लाइन पार्किङको व्यवस्था मिलाइएको ट्राफिक प्रहरीले जनाएको छ ।
त्यस्तै नेपाल शिक्षक महासङ्घले माइतीघर मण्डलामा भेला भइ बानेश्वर र माइतीघर सडक खण्डको बीचमा तथा सहकारी र लघुवित्त पीडितले शान्तिबाटीकामा कार्यक्रम गर्ने भएकाले ती ठाउँमा पनि आवश्यकता अनुसार डाइभर्सन मिलाइएको ट्राफिक प्रहरीले जनाएको छ ।