
काठमाडौं । मुटु र फोक्सोसम्बन्धी रोगको उपचार गराइरहेका वरिष्ठ पत्रकार भैरव रिसालको बानेश्वरमा रहेको फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा निधन भएको छ ।
रिसालले मृत्युपश्चात् आफ्नो शरीर शिक्षण प्रयोजनका लागि ललितपुरस्थित पाटन अस्पताललाई दिने घोषणा गरे अनुसार शव पाटन अस्पताललाई दिइएको र दाहसंस्कार नहुने परिवारजनले जनाएको छ ।
२९ साउन १९८५ मा भक्तपुरको तिथलीमा जन्मिएका रिसाल घट्टेकुलोस्थित निवास बस्दै आएका थिए । ०१३ सालमा हालखबर दैनिकबाट पत्रकारिता थालेका रिसालले पछिल्लो रेडियो सगरमाथामा कुरोकन्थो कार्यक्रम चलाउँदै आएका थिए । उनले ०५६ बाट सुरु गरेको कुरोकन्थो गत २९ साउनमा बिट मारेका थिए ।
उनले ‘उहिले बाजेका पालामा’ रेडियो शृंखला पनि लामो समय चलाएका थिए । उनी नेपाल वातावरण पत्रकार समूहका पूर्वअध्यक्ष पनि हुन् । रिसालले राष्ट्रिय समाचार समितिमा प्रमुख समाचारदाताको समेत जिम्मेवारी निर्वाह गरेका थिए । त्यसअघि तथ्यांक विभागमा छँदा उनी लिम्पियाधुरा क्षेत्रको गणनाका लागि पनि पुगेका थिए ।