
काठमाडौं । धादिङ घर भई टोखा बस्ने २६ वर्षीय रोशन गुरुङलाई प्रहरी वृत्त बानेश्वरका दुई प्रहरी तथा सिनामंगलस्थित सशस्त्र प्रहरी गणका एक प्रहरी समिलेर शैलीमा १४ लाख डकैती लुटेका छन् ।
लुटपाटमा संलग्न नेपाल प्रहरीका सहायक हवल्दार बाँके बैजनाथ घर भएका खगेन्द्र मल्ल ठकुरी, जवान खोटाङ रावाबेँसी घर भएका हिरा मंग्राती, सशस्त्र प्रहरीका सहायक हवल्दार प्युठानका राजेन्द्रकुमार केसीलाई जिल्ला प्रहरी परिसर, काठमाडौंले मंगलबार पक्राउ गरेको हो । लुटपाटमा उनीहरूलाई सघाउने मोरङका कपिल बस्नेत, दोलखाका संजोक तामाङ र मोरङका मनीषकुमार रायलाई पनि पक्राउ गरिएको काठमाडौं परिसरले जनाएको छ ।
प्रहरीका अनुसार कपिलले प्रहरीसँग मिलेर लुटपाटको योजना बनाएका थिए । आफूले सस्तोमा क्रिप्टो बेच्ने भन्दै उनले रोशनलाई पैसा लिएर आउन भनेका थिए । सोहीअनुसार रोशन आइतबार १४ लाख लिएर बानेश्वरको एक रेस्टुरेन्टमा पुगे । त्यहाँ उनी कुरा गर्दै गर्दा दुई प्रहरी हतकडी लिएर छिर्छन् र आफ्नो परिचयपत्र देखाउँदै १० लाख रुपैयाँभन्दा धेरैको पैसा हुन्डी हुने भन्दै पक्राउ गरेर मुद्दा चलाइदिने भनेर थर्काउँछन् ।
पछि मुद्दा नचलाउने सर्तमा सो पैसा लिएर जान्छन् । जुन पैसा प्रहरी र सुराक दिने व्यक्तिले आधा–आधा लिएको काठमाडौं परिसरका एसपी अपिलराज बोहराले बताए । पक्राउ परेका दुई प्रहरी कर्मचारी बानेश्वर वृत्तमा सादा पोसाकमा कार्यरत थिए । सशस्त्र प्रहरीका हवल्दार पनि गणबाट सादा पोसाकमै खटिँदै आएको खुलेको छ ।