मन्त्री मदु कुमार श्रेष्ठको राजिनामा माग

Avatar photo
Dhadingpost
शुक्रबार, फाल्गुन १६, २०८१

धादिङ । बागमती प्रदेश सरकार, सहकारी तथा गरिबी निवारण मन्त्रालयका माननीय मन्त्री मदु कुमार श्रेष्ठको तीन दलले विज्ञप्ती जारी गर्दै राजिनामाको माग गरेका छन् ।

स्वकीय सचिव रवि थापाको मृत्यु रहस्यमय र शंकास्पद भएकोले निष्पक्ष छानविनका लागि मन्त्री मदु कुमार श्रेष्ठले राजिनामा दिनु पर्ने माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक रत्न प्रसाद ढकाल, एकीकृत समाजवादीका संसदिय दलका प्रमुख सचेतक वशन्त प्रसाद मानान्धार र राष्ट्रिय प्रजातन्त्र पार्टी, संसदिय दलका प्रमुख सचेतक कुमारी तामाङद्वारा जारी संयुक्त प्रेस विज्ञप्तीमा उल्लेख छ ।

धादिङ, धुनीबेसी–९ घर भएका ३६ वर्षीय थापाले कलंकीस्थित एक साथीको डेरामा दिउँसो २ बजे विषादी सेवन गरेको र अचेत अवस्थामा अवस्थामा भेटिएपछि तत्काल उपचारको लागि कलंकीस्थित सहिद मेमोरियल अस्पताल पुर्‍याइएको र उपचारको क्रममा साँझ ६ः३८ बजेको समयमा चिकित्सकले मृत घोषणा गरेको थियो ।

थापाको साथबाट एक पेजको पत्रसमेत बरामद भएको प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक अपिलराज बोहराले मिडियालाई जनाएका थिए । सो पत्रमा सहकारीको पैसा लेनदेनको विषयमा आफूलाई जोडिएको र त्यसले आफ्नो बेइज्जत भएको उल्लेख रहेको गरिएको जनाईएको छ ।

विज्ञप्तीमा भनिएको छ
मृतक रवि थापाको अकल्पनीय मृत्यु पछि प्रहरीले फेला पारेको आत्महत्या सम्बन्धी मृतकको स्वलेख (सुसाइड नोट) भनिएको पत्र तथा सहकारी सम्बन्धी मृतक रविको बाहिरिएको अडियो रेकर्डमा मन्त्री मदु कुमार श्रेष्ठ लगायत नेताहरुको समेत नाम सुनिएको र सोही कारण बाध्यात्मक परिस्थितिमा आत्महत्या भएको भन्ने आसयका समाचार आदिले घटनालाई रहस्यमय बनाएको छ । उक्त घटनालाई हामी बागमती प्रदेश सभामा प्रतिपक्षमा रहेका ने.क.पा. (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी र ने.क.पा. (एकीकृत समाजवादी) पार्टीले गंभिर रुपमा लिएका छौं । त्यसैले यस घटनाको सबै पक्षबाट छानविन हुन अत्यन्त जरुरी छ । हामी यस घटनाको निष्पक्ष छानविनका लागि सहज वातावरण निर्माण गर्न मा. मन्त्री मदु कुमार श्रेष्ठको राजिनामा माग गर्दछौं । साथै यस घटनाको प्रदेश स्तरमा संसदीय छानविन समिति बनाई वास्तविकता बाहिर ल्याउनु पर्दछ । त्यसैले हामी प्रदेश सभाको बैठक अविलम्व सञ्चालन गरी रवि थापा मृत्यु सम्बन्धी सर्वदलीय संसदीय छानविन समिति निर्माण गर्नका लागि प्रदेश सभाको बैठक तत्काल सुचारु गरी छानविन समिति गठन गर्न प्रदेश सरकार र सभामुख समक्ष यसै विज्ञप्ति मार्फत जोडदार माग गर्दछौं
|