धादिङ । नेत्रावती डबजोङ गाउँपालिकाको पालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता महेन्द्रबाराही मावि कटुञ्जेमा सुरुभएको छ ।
प्रतियोगिताको उद्घाटन संविधानसभा सदस्य, पुर्व कानून, न्याय तथा संसदीय मामिला राज्यमन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिलमान पाख्रीनले बिहिबार एक भव्य समारोहका बीच गरेका थिए ।
५ वटा माध्यामिक विद्यालयहरु सहभागी यस प्रतियोगिता गाउँपालिकाका प्रवक्ता ठाकुर गुरुङका अनुसार प्रतियोगिता पौष १३ गते सकिने छ ।
गाउँपालिका अध्यक्ष मेघनाथ रिजालको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा गाउँपालिकाका उप–प्रमुख सिता माया गुरुङ, वडा अध्यक्षहरु, निवर्तमान गाउँपालिका अध्यक्ष दुर्ग कुमार शाक्य, निवर्तमान गाउँपालिका उपाध्यक्ष उर्मिला तामाङ लगायतको आतिथ्यता रहेको थियो ।
गत वर्ष सेमजोङको चौतारा माविमा सम्पन्न नेत्रावती डवजोङको रनिङ शिल्ड प्रतियोगिता निरन्जना माविले ११ स्वर्ण, ७ रजत र ७ कास्य पदक ल्याई जितेको थियो भने ९ स्वर्ण, ४ रजत र ५ कास्य सहित मंगलदेवी माध्याकिम विद्यालय द्वितिय भएको थियो ।