बागमतीमा सात वर्षमा पाँच मुख्यमन्त्री, ६४ जना मन्त्री, आठ राज्यमन्त्री

Avatar photo
Dhadingpost
बुधबार, कार्तिक २८, २०८१

काठमाडौं । राजनीतिक भागबन्डा र नेताहरूको व्यवस्थापनका नाममा बागमती प्रदेशमा मन्त्रालय टुक्र्याउने सिलसिला चार वर्षदेखि जारी छ । भदौ ०७८ मा तत्कालीन मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सुरु गरेको मन्त्रालय फुटाउने रिलेदौडलाई वर्तमान मुख्यमन्त्री बहादुरसिंह लामाले पनि कायमै राखेका छन् । चार महिनादेखि विनाविभागीयमन्त्रीलाई जिम्मेवारी दिन मुख्यमन्त्री लामाले मंगलबार एक मन्त्रालय थपेर १४ पुर्‍याएका छन् ।

०७४ मा प्रदेश सरकार गठन हुँदा सात मन्त्रालय रहेको बागमतीमा तत्कालीन मुख्यमन्त्री शाक्यले मन्त्रालयको संख्या आठ पुर्‍याइएकी थिइन् भने राज्यमन्त्री थपको सुरुवात गरेर १२ सदस्यीय मन्त्रिपरिषद् बनाएकी थिइन् । हुन त ०७८ कात्तिकमा मुख्यमन्त्री बनेका राजेन्द्र पाण्डेले शाक्यलाई पनि पछि पार्दै १४ मन्त्रालय पुर्‍याएका थिए । चार राज्यमन्त्री थपेर १८ सदस्यीय मन्त्रिपरिषद् मात्र बनाएनन्, झ्यालझ्यालमा मन्त्रालय बनाएका थिए ।

०७९ को निर्वाचनपछि तत्कालीन मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रालयको संख्या फेरि ११ मा झारे । तर, पछि आफ्नै निर्णयबाट पछि हटेर उनले गत वर्ष भदौमा मन्त्रालय टुक्र्याएर १२ पुर्‍याएका थिए, तर चैत्रमा फेरि १३ मन्त्रालय पुर्‍याए ।

तर, गत साउनमा मात्र मुख्यमन्त्री बनेका लामाले मंगलबार एउटा मन्त्रालय टुक्र्याएर १४ पुर्‍याएका हुन् । कांग्रेसबाट विनाविभागीयमन्त्री नियुक्त भएका मदुकुमार श्रेष्ठका लागि मुख्यमन्त्री लामाले पर्यटन तथा सहकारी मन्त्रालय टुक्र्याए । श्रेष्ठले नियुक्तिको ११२ दिनपछि गरिबी निवारण तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

माओवादी संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रालय टुक्र्याउनु गैरजिम्मेवारी भएको बताए । ‘यो सरकार गैरजिम्मेवार छ । बहुमतको नाममा जे गर्दा पनि हुन्छ भन्ने लागेको छ । त्यसकै परिणाम हो १४ मन्त्रालय बनाउनु,’ उनले भने, ‘संसद्का दुई ठुला दलको सरकार हुँदा त मन्त्रालय घट्नुपर्ने हो । उहाँहरूले ७ वटा मन्त्रालयमा झार्नुपर्ने हो । विगतमा जस्तो ४–५ वटा दलहरू मिलेर बनेको सरकार होइन । तर, उहाँहरूमा जवाफदेहिता नै छैन ।’

३ माघ ०७४ मा प्रदेश स्थापना भएपछि मुख्यमन्त्री बनेका एमाले नेता डोरमणि पौडेलले सात मन्त्रालय चलाएका थिए । उनीसहित सात मन्त्रीले झन्डै तीन वर्ष सरकार चलाए । प्रदेशमा ७ जना मन्त्री बनाएका थिए ।

त्यसपछि २ भदौ ०७८ मा मुख्यमन्त्री बनेकी एमाले नेतृ अष्टलक्ष्मी शाक्यले बागमतीमा मन्त्रालय फुटाउने सिलसिला सुरु गरिन् । एमालेबाट विभाजन भएर एकीकृत समाजवादी गठन भएपछि सत्ता टिकाउन शाक्यले सोही महिना मन्त्रालयको संख्या सातबाट आठ पुर्‍याएकी थिइन् । उनले राज्यमन्त्री थप्ने सिलसिला पनि सुरु गरिन् । उनले चारजनालाई राज्यमन्त्री बनाइन्, १२ सदस्यीय मन्त्रिपरिषद् पनि उनैले बनाएकी थिइन् ।
शाक्य नेतृत्वको सरकार दुई महिनामै ढलेपछि बागमतीमा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री बने । ११ कात्तिक ०७८ मा मुख्यमन्त्री बनेका उनले आफ्नो दलसहित कांग्रेस र माओवादीलाई भागबन्डा पुर्‍याउन मन्त्रालयको संख्या १४ पुर्‍याए । त्यति मात्र होइन, उनले चार राज्यमन्त्रीसमेत थपेर १८ सदस्यीय मन्त्रिपरिषद् बनाएका थिए ।
४ मंसिर ०७९ निर्वाचनपछि २५ पुसमा मुख्यमन्त्री बनेका माओवादी नेता शालिकराम जम्कट्टेलले मन्त्रालयको संख्या १४ बाट ११ मा झारेका थिए । जम्कट्टेलले १४ बाट ११ मा झारे, कांग्रेस र एमालेलाई खुसी बनाउन १३ पुर्‍याए । नयाँ पत्रिकाबाट