धादिङ । धादिङको नीलकण्ठ १४ स्थित कुपा गाउँ पछिल्लो समय चर्चामा छ । ल्होछार, विभिन्न खेलकुद प्रतियोगिताहरु सँगै कुपावासीहरुको एकता सँगै सुन्दर प्राकृतिक वनावटले कुपा गाउँ पछिल्लो समय परिचित छ ।
दशैंमा कुपा कप (फुटबल र १० किलोमिटर दौड) सम्पन्न गरेको कुपा युवा समाजले तिहारमा मौलिकता जोगाउन देउसी भैलो कार्यक्रम सम्पन्न गरेको छ । कार्तिक १७ गते देखि सुरुभएको उक्त देउसी भैलो २१ गते आज समिँदै छ ।
हाम्रो धर्म, कला संस्कृति परम्परा मौलिकताहरु पश्चिमा संस्कृतिको दास बन्दै गइरहेको छ । तिहारमा खेलिने देउसी भैलो र त्यससँगै नाचिने नाच, गाइने ठाडा भाकाहरू पनि फेरिदै जान थालेका छन् । यस तर्फ ध्यान दिँदै हामीले मौलिकता जोगाउन देउसी भैलो खेलेका हौं, कुपा समाजका अध्यक्ष हर्क तामाङले बताए ।
नेपाल बहुभाषिक बहुसांस्कृतिक भएको मुलुक हो । तर, ती बहुभाषिक बहुसांस्कृतिक चाडपर्व परम्परालाई आ-आफ्नो समुदायले बिर्संदै जान थालेका छन् । हामी कुपाबासीहरुले मौलिकतालाई जोगाउने प्रण गरेका छौं त्यहि अनुरुप देउसी खेलियो मौलिकतालालाई निखारता ल्याउन अझै सकिएको छैन, अर्को साल देखि सुधार गर्ने छौं उनले भने ।
हाम्रो यो देउसी भैलो आर्थिक संकलनका लागि थिएन कला संस्कृति परम्परा मौलिकता जोगाउनका लागि थियो । कुपाको पछिल्लो समय जे जति सकारात्मक कामहरु भईरहेका छन् देश तथा विदेशमा छरिएर रहेका कुपावासीहरुको एकताले गर्दा हो । कुपा युवा समाजले बनाउने हरेक योजनाहरुमा हामी कसैको विमती रहँदैन सबैले हातेमालो गर्नुहुन्छ अध्यक्ष गुरुङ बताउँछन् ।