
म विदेश जाँदै छु । स्वदेशमा केही गर्ने वातावरण नै भएन । क्षमता छ तर कदर कतैबाट हुँदैन । आँट छ , साहस छ, केही गर्छु भन्ने तिब्र चाह छ तर त्यसको लागी अनुकुलता छैन । अनि के रहन्छ बिकल्प म सँग ? त्यसैले म विदेश जाँदैछु । विदेश रहर होईन बाध्यता हो ! रहर त त्यहाँ थियो जहाँ आफ्नो परिवार, आफन्त, साथिभाईको साथमा रमौउँदै देशको माटो चुम्ने, स्वदेशलाई अङ्गालोमा बेर्ने । तर परिस्थितिले त्यो सबै रहर कहाँ पूरा गरिदिदो रहेछ र । त्यसैले त आमाको काख, बुबाको साथ, आफ्नाको माया, आफन्तको याद, साथिभाई सँगको रमाईलो पल अनि स्वदेश सँगको नाता चटक्कै छाडेर एक्लो जिवनको परिकल्पना लाई आत्मसात गर्दै बाध्यताको एउटा डोरि समाउनै पर्ने रहेछ । चाहे त्यो पढ्नको लागि होस वा कमाउनको लागि ।
हो ! अक्सर आजका युवाहरुको मनमा यस्तै यस्तै भावनाहरुमात्र जाग्रीत हुँदैछ । अवसरको खोजिमा स्वदेशको वास्नालाई भुलेर विदेशको पसिनामा रमाउने सपना देख्नु एउटा नियती नै भैसक्यो । आखिर जसरि पनि बाच्नु त छनै ! बाच्नकै लागि संघर्षको मैदानमा आफैलाई बिक्रिमा राख्नुको सहज बिकल्प अरु केही भैदिए ! हो ! आज हामी देशको जुनसुकै कुनामा जाउ सबैको एउटै साझा सपना, बाच्नु त छनै बचाउनु पनि छ । हिजो बाचियो, आज बाचौला, भोलिको लागि आफै बाच्नु छ अनि अरुलाई बचाउनु छ । यहि नै हो सुनिने वाक्याहरु । हाम्रो एयरपोर्टले मान्छे निर्यात गर्छ विदेशको एयरपोर्टले मान्छे खरिद गर्छ । त्यहाँ देखिँदा एउटा भौतिक शरीर देखिन्छ तर त्यो शरीर सँगै एउटा श्रम गर्ने हात, एउटा परिवर्तन गर्ने शक्ति, एउटा दक्षता, एउटा कर्मठ मन अनि एउटा सुन्दर सपना सबै एकैपटक बिक्रि भैरहेको हुन्छ । हाँसो र आँसुको एउटै संगम बनेको हाम्रो एयरपोर्टलाई पनि पीडा हुँदो हो त्यो ठेलमठेल भिडले दबाईरहँदा ! प्लेनको आवाजले चिच्याहटलाई लुकाईरहदा ।
म महिनाको ५० हजार खान्छु, म महिनाको असी हजार खान्छु, म उस्तै परे १ लाख सम्म कमाउन सक्छु । म ईन्जिनियर हुँ, म डक्टर हुँ, म नर्स हुँ, म शिक्षक हुँ, म विद्यार्थी हुँ, म एउटा सामान्य नागरिक हुँ । तर मेरो अबको गन्तव्य विदेशनै छ । हो सामान्य नगरिक देखि महिनाको १ लाख सम्म स्वदेशमै कमाउनेहरु किन विदेशिन वाध्य बन्दै छन् ? चुरो प्रस्नको गहिरो उत्तर कसरी खोजु म जबकी म आफै पलायनको बाटो रोज्दै छु ।
सत्ताको कुर्सिमा बस्नेहरु भन्ने गर्छन् , अब कोहि नेपाली विदेशिनु पर्दैन, कोहि नेपाली एयरपोर्टमा लाईन लाग्नु पर्दैन ! कोहि आमा बाबू आफ्ना सन्तानलाई विदाईको हात हल्लाउन वाध्य हुनेछैनन् । तर त्यही समय उता एयरपोर्टमा विदेशिनेको लाईनले बाहिरी गेट छुन्छ। गाउँनै रित्तिने गरि युवाहरु विदेशिन्छन । कोहि बैध बाटो जालन कोहि अबैध बाटो जालन । कोहि स्वदेश फर्केर आउलान, कोई उतै अस्ताउलन । विधिको बिडम्बना भनौ वा शासकको लाचारीपन भनौं मृत्युलाई हत्केलामा राखेर पराईको नियन्त्रणमा आफुलाई सुम्पनु आम नेपालीको रहर होला र ?
म पनि एउटा वेरोजगार । पढ्ने र कमाउने सपनाको एउटा पोको बोकेर शहर छिरेको पनि बर्शौ भैसकेछ । डिग्रिका सर्टिफिकेटहरु ट्यांकामा थन्किएका छन् । तर म १५/२० हजारको जागिर खोज्न भौतारिरहेको छु । आखिर किन ? पासपोर्टको लागि घान हालेको छु आखिर किन ? म सँग क्षमता नभएको पनि होईन ! सायद अवसर पाएको खण्डमा म मेरो ज्ञानको क्षमतालाई सार्थक परिणाममा पुर्याउने काबिल पनि राख्छु । तर त्यो अवसर कहाँ र कसरी प्राप्त गर्ने ? कुनै बाटो हुँदोहो त म दौडेर जान्थे होला च्याप्प समाएर आफ्नो बहसमा पार्न तर ….
मेरो नियमित समय तालिका । नयाँ बसपार्कलाई नियाल्नु, पुरानो बसपार्कलाई नियाल्नु, रत्नपार्कमा थुप्रिएका जमातको शब्द केलाउनु, एयरपोर्टको गेटलाई महसुस गर्नु । यस्तै यस्तै काठमाडौंका मुख्य मुख्य चोकका चिया पसलहरुलाई दुईचार पैसा बुझाउनु । हो ! म आजको आफ्नो नियमित तालिकालाई पक्ष्याउदै वेरोजगार पनबाट भौतारिदै आफ्ना भविष्यका सुन्दर सपनाहरुलाई बाहिरि दुनियामा घुमाउन निक्लेको थिए रत्नपार्क तिर । रत्नपार्क जहाँ यस्तै उस्तै वेराेजगार पंक्तिको जमघट स्थल भनौ ।
एउटा अपरिचित पात्र मेरो सामु आएर परिचएको हात अघि बढाए । एक अर्कामा चिनजानको औपचारिकता सकिएपछी मनका बह पोखिन थाले । पारिलो घाममा २ कप चियाको चुस्की संगै एक अर्काका पीडाहरु पालै पालो पोखिन थाले । उनी पश्चिम नेपालबाट पढाइ र अवसरको खोजिमा काठमाडौं शहर छिरेका रहेछन् । औपचारिक पढाइ बिए सम्म सकेर एउटा प्राईभेट कम्पनिमा राम्रै सुबिधामा काम पनि गरेछन केही समय । त्यो पनि लामो संघर्ष पछि हात लागेको जागिर । मासिक ४० देखि ५० हजारको एभरेज कमाई गर्ने उनी पछिल्लो समय जागिर छोडेर विदेशिनको लागि पासपोर्ट घान हालेर बसेका रहेछन । हेर्दा खाई लाग्दा, प्रस्ट विचार राख्ने उनको कुरा सुन्दा लाग्थ्यो यिनिमा केही फरक क्षमता छ । तर उनको अनुहारको उदासिपनले पीडा प्रस्ट झल्काई रहेको थियो । मैले आफू बेरोजगार भएको कुरा भुलेर प्रश्न गरे ! पाढाई पनि राम्रो रहेछ, कमाई पनि राम्रै गर्नु हुँदो रहेछ फेरि किन विदेश जान लाग्दै हुनुहुन्छ ? सायद काम गर्दै जादा सुविधा अझै थपिदै जाला !
उनी बोल्न थाले, हो पढाइ काम चलाउ सके, कमाई यतिको नराम्रो पनि होईन । आजको लागि यहाँ टिक्न मलाई गाह्रो नहोला । तर मेरो पछाडी घर परिवारको जिम्मेवारी छ । आफ्नो सुन्दर भविष्यको कल्पना छ । केही वर्ष पछि एक बाट दुई दुई बाट तीन हुने दिन आउला ! अनि यहि कमाईले म चल्न सकुला ? अहिलेको महङ्गिको रेसियोलाई म त्यतिखेर धान्न सकुला ? अहिले त परिवरको गर्जो जसो तसो टारेकै छु ! तर भोलि त्यो सम्भावना म देख्दिन । सरकारी नोकरीमा छिर्न तपाईं हामी सोझा साझाको लागि फलामको चिउरा हो जसलाई चपाउने साहस छैन । निजि कम्पनी आज छ भोलि नहुन सक्छ । व्यापार ब्यबसायको हालत तपाईलाई थाहा छदैछ । अनि बिकल्प केहि रह्यो र ? बरु बेलैमा विदेश छिरेर दुई चार पैसा जोगाउन सक्यो भने आमा बुबाको मुहारमा अलिकती भएपनी खुसिको मुस्कान छर्न सकिएला, आफ्ना केही सपना हरु पूरा गर्न सकिएला । त्यसैले यहाँ धौ धौको जीवन बाँच्नु भन्दा सम्मानका साथ विदेशमा पसिना बेच्ने निधो गरे हजुर मैले त । म संग अर्को प्रश्न गर्ने साहस रहेन । शुभकामनाका हातहरु हल्लाएर हामी छुट्टियौ त्यहाँबाट ।
दोस्रो दिन म आफ्नो नियमित तालिकालाई पछ्याउँदै त्रिपुरेश्वर स्थित पासपोर्ट बिभागको भवन आसपास पुगे । त्यहाँ भित्र देखि बाहिर सम्म पासपोर्ट बनाउने र नविकरण गर्नेको लाईनको भिड थियो । म आफै पनि पासपोर्ट बनाउन घान हालेर बसेको मान्छे त्यहाँको माहोल राम्रै संग बुझी सकेको थिए। लाईनलाई नियाल्दै यताउती गर्दै गर्दा एउटा परिचित अनुहार देखे । उहाँ सँग बिगतमा पनि केही पटक चिया गफ भैसकेको थियो । बोल्नको लागि आपत्ती थिएन । तर फ्याट्ट बोलाईहाल्न मन मानेन । कारण थियो उहाँ एक सरकारी कार्यलयको अधिकृत लेवलको मान्छे । सायद दुई तीन वर्ष जति भयो होला उहालाई सरकारी नियुक्ती मिलेको । मैले फ्याट्ट बोलाईहाल्दा केही असहज मान्नुहोलाकि भनेर केही छिन मौन बसेर नियाले मात्र । मन मानेन नजिक गएर बोलाए । सर नमस्कार ! हाम्रो भेटमा हुने नियमित सम्बोधन । अहो ! नमस्कार ! आराम हुनुहुन्छ ? हजुर म आरम छु अनि हजुर ? हजुर म पनि आराम भनुम ।
फेरि अर्को प्रश्न आयो ! अनि के कति कामले यता आउनुभो ?
त्यस्तो कामै त केही होईन यतै डुल्दै थिए ! यहि लाईनलाई नियाल्दै गर्दा हजुरलाई देखे अनि बोलाए ।
ए हो ! राम्रो भो संजोगले केही समय पछि भेट्ने मौका मिल्यो । खुसी लाग्यो ।
मैले प्रश्न गरे । अनि हजुर यो लाईनमा आफ्नै लागि कि अरु कोहिको लागि ?
म आफै पासपोर्ट बनाउ कि भनेर सर !
मैले सोचे अधिकृत मान्छे कुनै अवसर मिल्न सक्छ कामको सिलसिलामा बाहिर जाने त्यही भएर पासपोर्ट बनाउन लाग्नु भो होला । तर कुरो त्यस्तो होईन रहेछ । उहाँ पनि हुदाखादाको जागिर छाडेर विदेशिने सोचाईमा हुँनुहुदो रहेछ । मैले चिने अनुसार उहाँ गलत मान्छे हुँदै होईन । कामलाई सम्मान गर्ने मान्छे । अरुलाई आदार गर्ने, सामाजिक कार्यमा सक्रिय एउटा सुन्दर हृदय भएको मान्छे हो उहाँ मेरो नजरमा । तर उहाँको मुखबाट विदेशिने कुरा सुन्दा अलि अपत्यारिलो लाग्नु स्वभाविक थियो ।
तर त्यो झल्को नदिई मैले प्रश्न गरे, हजुर त अधिकृत लेवलको एउटा सम्मानित पदमा हुनुहुन्छ । कमाई राम्रै छ ! फेरि किन यो बाटो सोच्नु भयो । त्यसो त मेडम पनि राम्रै कमाई गर्नु हुन्छ । यतै दुख सुख गरेर रमाउदा हुन्न र सर ?
मेरो प्रश्न भुईमा झर्न नपाउदै जवाफ दिन थाल्नु भयो । सर ! के भनौं ! नेपालको परिवेश मैले जति बुझेको छु तपाईंले अझ बढी बुझ्नु भएको छ जस्तो लाग्छ । रहरले को बिदेशिन चाहन्छ र ? बाध्यताको भुमरी र भविष्यको सपनाको ठेलिहरुले झस्काएरै त हो यी पाईलाहरुले स्वदेशको माटोलाई चटक्कै भुल्दै विदेशी माटोलाई चुम्न पुग्नु । मेरो अधिकृतको तलब छ, श्रीमती ३५ देखि ४५/५० हजार सम्म कमाउँ छिन । एउटा छोरो छ । उता तराईको गाउमा बाउआमा सन्तानको भविश्यको सपना साकार भएको हेर्न आतुर हुनुहुन्छ । म काठमाडौंमा डेरामा बस्छु । र पनि म सन्तुष्ट हुन सकिन! आफुले देखेको सपना यहाँ बसेर पूरा नहुने देखेरै म यो लाईनमा उभिदैछु आज । म जस्तै कति हुनुहोला यो लाईनमा हेर्नुस त ।
एकछिनको मौनता भङ्ग गर्दै पुन प्रश्न गरे ।
हजुरहरु दुईजनाको कमाई लगभग एक लाखको हाराहारीमा छ । यो भनेको नेपाली परिवेशमा उच्च- तहको आम्दानी हो । फेरि किन विदेशिनु हुन्छ ?
जवाफ आयो । हेर्दा जति सहज छ, परिस्थिति त्यति सहज छैन सर । तपाईं हामी सोझो बाटो हिड्ने मान्छे । हामीलाई छलकपट देखि एलर्जी हुन्छ । खराब राजनिती देखि घृणा लाग्छ । तर यहाँ छलकपटि, दलालिर, राजनितिमा पहुँच भएकाहरुको मात्र भविष्य उज्ज्वल छ । तपाईं हामी त पिल्सिने मात्र हो । अहिलेको महङ्गी यहि हो । घर खर्च, डेरा खर्च, बच्चाको फि, खाना, चाडपर्व, भेटघाट, अझ कुनै ठूलो बिमार परियो भने लाग्ने उपचार खर्च । अहो कल्पना गर्नुस त । अनि के सहज छ त यहाँ ? शहरमा पाढिरहेको बच्चालाई गाउँ लान सकिँदैन । यदि त्यो निर्णय गरिहालियो भने पनि त्यो कलिलो मानसिकतामा कस्तो असर पर्ला ? अझ हाम्रो सामाजिक परिवेसले शहरमा टिक्न नसकेर फर्किए भनेर खिसिट्याउरी गर्न थाल्छन् । उमेर दिन दिनै ढल्कदै जाने हो । शरीरमा उर्जा छँदै केही गर्न सकिएन भने भविश्य कहाली लाग्दो हुने निश्चित छ । अनि वर्तमानको बुझाई र भविष्यको सपनालाई समायोजन गरेर कठोर निर्णय नगरेर भयो र सर ?
उहाँको प्रश्नको उत्तर दिन म असमर्थ भए । त्यसपछी आपसको भलाकुसारी बिट मार्दै म आफ्नो गन्तव्य तिर लागे।
सुन्धाराबाट बालाजु तर्फ आउने माईक्रो चढे । त्यसमा ४/५ जना कलेज पढ्दै गरेका विद्यार्थीहरु आपसमा कुरा गर्दै गरेको देखे । म बोलिन सुनिमात्र रहे उनिहरुको कुरा । उनिहरु भन्दै थिए।
कलेज सकिनै लाग्यो । अब त विदेश जाने तयारी कक्षा तिर जोईन हुनु पर्छ । नेपालमा केही छैन । न जागिर पाईन्छ, न आफ्नो क्षमताको सम्मान हुन्छ, न अन्य कुनै अवसरको ढोला खुल्छ । न ब्यबसायको लागि अनुकुल वातावरण नै छ। बरु बेलैमा विदेश हिडेसी भविष्य त रुरक्षित हुन्छ । सके अमेरिका, अस्ट्रेकिया, क्यानडा तिर कोसिस गरौं । नसके खाडिका मुलुक हामीलाई स्वागत गर्न आतुर छदै छन् । त्यसमा अझ उनिहरुले थपेको सोचनिय कुरा सरकारी जागिर बारे पनि थियो । पहिलो कुर सरकारी जागिरमा नाम निकाल्न नै गार्हो छ । यहाँ राजनितिक पहुँचको आड र ठुलाबडाको साथ नभए सहज रुपमा नाम निकल्नै सकिँदैन। निकालिहालियो भने पनि तल्लो तहको तलबले अहिलेको महङ्गीको मारलाई थेग्नै सक्दैन । अधिकृत भैहाल्यो भने पनि कति बेला कुन एक्सनमा परिन्छ, कसरी फसिन्छ थाहा हुन्न । काम नगरौ आफ्नो जिम्मेवारी बहन गर्नै पर्यो, गरौं कसले कुन जाल रचिरहेको हुन्छ पत्तै हुन्न। आफ्नो खुसिले बाच्ने आधारनै खोसी दिन्छ झन । त्यसैले विदेश जाने साम्मानका साथ पसिना बगाउने, कमाउने रमाउने । उनीहरु सबैको एउटै स्वर थियो यो कुरामा ।
म अवाक भए उनिहरुको कुराले । उनिहरु गफिदै थिए म बालाजु चोकमा झरेर आफ्नो गन्तब्य तिर लागे । वेरोजगार देखि सरकारी जागिरे सम्म, बिद्यार्थी देखि शिक्षक सम्म सबै देशको परिस्थिति देखि कति आजित भएका छन भन्ने महसु गरे मैले।
चर्चित नायिकाहरु बच्चाको भविष्यको लागि भनेर विदेशमा बच्चा जन्माएर उतैको नागरिकता लिन्छन । विदेशिने लिस्टमा चर्चित गायक गायिका देखि स्वदेशमा नाम र दाम दुबै कमाएका चर्चित कलाकार हरु सम्मको फेहरिस्त लामो छ । यति हो फरक ! हुने र सक्ने हरु ठुला देश जान्छन, नसक्ने हरु खाडीका देश हानिन्छन । आखिर विदेशिनु हाम्रो नियत जो बनेको छ ।
मेनपावर र कन्सल्टेन्सिहरु कतै खालि छैनन। सबै जसो दूतावासमा लामो लाईन छ । चिया गफमा यहि कुरा, बाटो हिड्दा यहि कुरा, बस चड्दा यहि कुरा । पासपोर्ट बनाउनेको लाईन देख्दा उदेक लाग्छ । एयरपोर्टको रुवाई र खुसिको माहोलले घायल बनाउँछ । सोच्छु, सबैलाई सबै देशले एकैपटक भिसा दियो भने त हाम्रो देश हप्ता दिनमै खाली हुनेछ । गाउँमा घर हरु खाली छन् । भएकामा पनि बुढा बाउ आमा बाहेक अरु देखिदैन । जग्गा जमिन सबै जङ्गलमा बदलिएको छ शहरका घरहरु समेत दिनदिनै खाली हुँदै छन् । देश देश जस्तो छैन । शासक शासक जस्तो छैनन् । दलालतन्त्र मौलाउदै छ ! भ्रस्टाचार र कमिसन खोर बढ्दै छ । सरकारी कामकाजमा सधै जालझेल छ । वेरोजगारिले सिथिल बनेर थाकेका अनुहारहरुले पोल्छ । न कृषकलाई सहुलियत छ, न उद्योगिलाई राहत छ । एकान्तमा बसेर यी सबै सम्झदा कटक्क मन खान्छ । आखिर म पनि त यहि समुहमा पर्छु। फरक यति हो आज म आफ्नो कथा दबाएर समग्रताको कथा ओकल्दैछु।
सिंहदरवारमा सिंहहरु बस्छन् ! मृग बनेको जनता उनिहरु संग सधै डराउनु पर्ने । अधिकार खोज्यो पाईदैन । सम्मान खोज्यो पाईदैन, अवसर खोज्यो पाईदैन । देश चराले छोडेको छिद्र छिद्र गुड जस्तो भैसक्यो । के त्यो गुडमा बस्न ती पलाएन भएका चराहरु फर्की आउलान ? प्रश्नले मुटुको धड्कन बढाईदियो ।
अर्को एक दिन म घर नजिकै गल्लितिर डुल्दै थिए । मनमा यावत कुराहरुको तुफान चलिरहेको थियो । कति आफ्नै कथाका तुफान त कति कति अरुका कथाका । असार साउनको महिन अकस्मात पानी वर्षिन थाल्यो । दर्के पानीमा कुदेर घर पुग्ने अवस्था थिएन । छाता पनि थिएन साथमा । त्यही नजिकै एउटा पसलमा छिरेर ओत लागे । बिरक्तिएको जस्तो मन लिगेर पसलको साहुजी बसिरहेका थिए । बोल्न मन लाग्यो । साहुजी आराम हुनुहुन्छ ? हेर्नुस न यसो बाहिर निक्लेको पानी परेर ओत लाग्न हजुरकोमा छिरे । केही अफ्ट्यारो त छैननी है ?
साहुजिले जवाफ दिए ! ए छैन छैन यस्तो दर्के पानीमा जहाँ ओत पाईन्छ त्यहा छिर्नै पर्यो नि । केको अफ्ट्यारो हुनु ।
मलाई गफ गर्ने र ब्यापारिको मनस्थिती बुझ्ने मौका चाहिएको थियो, सोधिहाले । साहुजी केही चिन्तित देखिनु हुन्छ नि ?
केहि हतारिदै …. ए … होईन होईन त्यस्तो केही छैन । केहि चिन्ता छैन । यहि पनिलाई हेरेर मजा लिराको ।
मैले फेरि सोधे । साउजी नढाट्नुस न तपाईको उदासी अनुहारले बताईरहेको छ तपाईं भित्रको चिन्ता । ढुक्कले भन्नुस । केही अफ्ट्यारो मन्नै पर्दैन ।
त्यसपछी भने साहुजी केही खुल्न थाले । खै के भन्नू हजुर । एउटा सानो ब्यापर छ, परिवार चलाएर बसेको छु । सक्दो कोसिस गरेको छु, केही हुन्छ कि भनेर । कोसैको केहि बिगारेको छैन । सके सम्म कम मुनाफामै सामान बेच्ने गरेको छु । तर पनि खुसी हुन सकिएन । जे सोचेर व्यापार थालियो त्यो पूरा हुनै सकेन । हेर्नुस न अब त यसो बिदेश तिर जाने योजनापो बनाउदै छु मत ।
फेरि यता पनि विदेशकै कुरा ।
किन के भयो र साहुजी ? घर परिवार सजिलो सँग चलाउन पुगे त भैगो नि । ब्यापर राम्रै होला केरे !
उनि लामो सास तानेर बोल्न थाले । व्यापार गर्न थालेको १०/१२ वर्ष भो । कमाई ठिक ठिकै छ । एक छोरा एक छोरी छन् । उनिहरुको पढाइ खर्च बढ्दै छ । महङ्गि बढ्दै गएको छ । अब त धौ धौ हुने अवस्था आउन लाग्यो यो व्यापार बाट मात्र त । त्यसमाथी हामी खुद्रा व्यापारी होलसेलबाट सामान ल्याउने गर्छौ । कहिले काहीँ यस्तो भैदिन्छ कि होलसेलले कर /भ्यट छली गरिदिन्छ यता उठ्नै नसक्ने गरि हामी फस्छौ । छली मिलेमतोमा उनिहरु गर्छन अनेक मुद्दा मामला र झन्झट हामिले खेप्नु पर्छ । लाखौ रुपैयाँ बुझाउनु पर्छ । हामी खुद्रा ब्यापरिलाई कति अफ्ट्यारो छ हेर्नुस त । शक्ति र सामर्थ्यको आड हुने त यस्तो केस बाट सजिलै उम्कन्छन हामी त त्यो सामर्थ्य राख्नै सक्दैनौ । अनि एक त नखाएको बिषले गर्दा इज्जत जान्छ, अर्को तर्फ जोगाएको २/४ पैसा पनि बाकी रहदैन । बरु बिदेश जाने , जस्तो काम पाईन्छ गर्ने । दुई चार बर्ष पछि फर्कने आनन्द ।
साहुजिको कुराबाट प्रस्ट भो ब्यापरिक क्षत्रपनी अस्तब्यस्त नै छ हामिकहा । पानी केही कम भए पछि साहुजी संग बिदा भएर म निक्लिए । बाटोमा हिड्दै गर्दा मन उथकपुथल भो । यी केही पात्रहरुको कुरा र उनिहरुको योजना सुन्दा देश प्रतिको निरासा बाहेक केही देखिएन । अझ देशको कुना कन्दरामा गएर बुझ्ने प्रयास गर्ने हो भने निरासाका तप्काहरु कति उचाई सम्म पुग्ला ? भित्र भित्रै पिल्सिएर बस्ने हरु कति होलान् ? बाच्नका लागि विदेशिएकाहरु कति उतै सकिए होलान् ? कति बाकसमा फर्किए होलान् ? कहिले सम्म चल्ने होला यो क्रम ? खैर ! प्लेनमा गएकाहरु बाकसमा फर्किएका दृश्यहरु आफ्नै अँखा अगाडि छर्लङ्ग हुदाहुँदै पनि आफु बाच्न र अरुलाई बचाउनकै लागि लामो लाईन लागेर, ठूलो रकम खर्चेर विदेशिन बाध्य छौँ हामी ।
कति अन्यायमा परे, कतिलाई पारिए । यहाँ गल्ती गर्ने एक अनि दोष बोक्ने अर्को भएका थुप्रै कहानिहरु छन् । ती कहानिका फेहरिस्त भित्र पिडाको चरम रुप बाहेक अरु केही भेटिदैन । अदालत, सुरक्षा निकायका ढोकाहरु, प्रशासनका बाटोहरु सबै सबै वर्षा रुपि राजनितिको तलाउमा चुर्लुम्म डुबुल्की मार्न पुगे । त्यहाँ बाट उत्रन सक्ने हैसियत अब उनिहरुमा कहाँ होला र । मिलेमतोको खेल भित्र शासकको लागि जनता धरौटी हुदैछ । देशको माटो अस्तित्वको खतरामा टोलाउदै छ । पुर्खाका बिरता अस्ताई सके । मालिकको पाउमा सिर निउराएर आफ्नो स्वार्थको डकार निकाल्नेहरु मोटाउदै गए । पौरखको स्वाद लिन चाहने जनता दुब्लाउदै गए । सिस्टमको धज्जी उड्यो । गौरबको ईतिहास माटोमै बिलाए । आज म सोच्छु ! कास ! मैले यो देशको नेतृत्व गर्न पाए ….. भो… फेरि यिनकै हावले मलाई छोयो भने म यिनिहरु जस्तो लाजको घुम्टो ओढेर कहाँ अस्तित्व जिवित राख्न सक्छु र ?
पिरै पिरको भारी मन भित्र अर्को पिर थपिदै छ । बाच्नकै लागि विदेशिएकाहरुको अस्तित्व सकिएको त्यो पल, छाहारिको पर्खाईमा टोलाउदै गरेका बुढा बुबा आमाको नयनको त्यो आसु, रातो सिन्दुर र साडी चोलिमा सजिएकी जीवन साथिको फिक्का स्वरुप, रम्ने र रमाउने उमेरमा एक्लिएका सन्तानहरुको अपेक्षाको चीत्कार । अहो! कहालि लाग्दो परिदृष्य भित्र ईन्द्रेणिको सात रङ्ग पनि फिक्का बन्दैछन् ।
मेरो त सपना देशमा प्रकाश छरिएको हेर्ने नै हो ।
यो देशको रुप र रङ्ग फेर्ने नै हो । बस् ! बुझ्नेले कुरा बुझिदिए , गर्नेले काम गरिदिए सम्भावना सधैं जिवित हुने थियो नि! तर सम्भावनाको खेल भित्र हुने झेललाई चिर्नु नै चुनौती भयो । म त भन्छु स्वास्थ र शिक्षामा गुणस्तरीयता बढाउ। ब्यबहारिकताको ज्ञान सबैलाई पढाउ ।
भ्रष्टलाई जेल हाल ! नियमको कसि प्रस्ट पार।
अनि बोलाउ! आउ एउटा माला उनौ,
जहा देशले काचुली फेर्ने छ,
परदेशले हामिलाई हेर्ने छ ।
अनि बन्द हुनेछन् आँसु र हासोको लाडाईमा चपेटिएको हाम्रो एयरपोर्टमा लाग्ने लाईन।
अनि बन्द हुनेछ बिछोडको चीत्कार ।
अनि बन्द हुनेछ शब्दमा कोरिने पिडाका कथा।