धादिङ । कुपा समाज नीलकन्ठ १४, धादिङले आयोजना गरेको नकआउट सेभेन ए साइड फुटबल प्रतियोगिताको फाईनल मेन्दोफोले युबा क्लब (काउले) र थर्पु युवा क्लब बीच हुने भएको छ । फुटबलको फाईनल अघि खुल्ला १० किलोमिटर मिनी म्याराथन प्रतियोगिता समेत हुने कार्यक्रम छ । कुपा समाजका अध्यक्ष हर्क गुरुङका अनुसार बिहा ९ बजेबाट म्याराथन र दिउँसो २ बजे फुटबलको फाईनल हुने छ ।
आज सम्पन्न भएको सेमिफाईनल खेलमा थर्पु युवा क्लबले छोइलीङ युवा क्लब ‘बी’ लाई पराजित गर्दै फाईनल यात्रा तय गरेको हो भने पहिलो चरण देखि उत्कृष्ट खेल प्रदर्शन गर्दै आएको बर्दिया जिल्लाको टिम अमृत जलकुन्निलाई स्तब्ध पर्दै मेन्दोफोले युबा क्लब (काउले) ले फाईनल खेलका लागि स्थान सुरक्षित गर्न सफल भएको हो । फाईनल यात्राका लागि थर्पुले छोइलीङलाई ४–० गोल अन्तरले हराएको थियो भने मेहोन्दोफोले अमृत जलकुन्निलाई ४–० को गोल अन्तरले हराएको थियो ।
यस चौथो कुपा कप प्रतियोगिताको फुटबल तर्फको प्रथम पुरस्कार ६६ हजार ६६६, दोस्रो पुरस्कार ३३ हजार ३३३ र सेमिफाइनल पुग्ने दुई टिमलाई १०/१० हजार रहेको छ । १० किलोमिटर खुला मिनी म्याराथनको पुरस्कार प्रथम पुरस्कार २२ हजार र उप विजेताको पुरस्कार ११ हजार रहेको छ ।
विगतका वर्षको नतिजा
- तेस्रो कुपा कप: फुटबल तर्फ पुरानो पानी नुवाकोट र दौड तर्फ बैतडीका नरेन्द्र रावत प्रथम
- दोस्रो कुपा कप: फुटबल तर्फ थर्पु युवा क्लब नेत्रावती डवजोङ प्रथम
- पहिलो कुपा कप: फुटबल तर्फ भङ्गेरी युवा क्लब धुवाकोट प्रथम