धादिङका दुई शिक्षकलाई राष्ट्रिय शिक्षा पुरस्कार

Avatar photo
नारायण सिलवाल
बुधबार, अशोज २, २०८१

धादिङ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय शिक्षा दिवस २०८१ को अवसरमा विद्यालय कर्मचारी र बालविकास शिक्षकलाई सम्मान गर्ने कार्यक्रम अनुसार धादिङबाट दुई जना शिक्षक पुरस्कृत भएका छन् ।

मन्त्रालयले शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याए बापत धादिङ सरकारी स्कुल तर्फ रानीपौवा मावि सल्यानटारका शिक्षक शशीधर पाठकलाई र निजी विद्यालय तर्फ न्यू किवो बोर्डिङ धादिङबेसीका प्रिन्सिपल प्रयास रेग्मीलाई राष्ट्रिय शिक्षा पुरस्कार प्रदान गरेको हाे ।

शशीधर पाठक
रानीपाैवा माविमा २०४७ देखि ०५१ जेष्ठ १० सम्म निजी स्रोतमा रहेर शिक्षक रहेका शशीधर त्यसपछि नीलकण्ठ माविमा एक वर्ष गणित विषय पढाए । २०५१ पाैष ११ मा निमाशि स्थायी नियुक्ति लिए सँगै उनी माशि अस्थायीका रुपमा सुन्दरी मावि सरुवा भए । २०६० मंसिर ८ मा माशि स्थायी भएका पाठक त्यसपछि पुन रानीपाैवा मावि फर्किए सँगै हाल प्रधानाध्यापककाे रुपमा कार्यरत छन् ।

प्रयास रेग्मी
२०६१ साल देखि न्यू किबाे बाेर्डिङमा शिक्षण पेशा सुरु गरेकाे प्रयास रेग्मीले ०६२-६४ सम्म काठमाडौंकाे हाेमल्याण्डमा अध्यापन गराई त्यसपछि पुन: न्यू किबाे नै फर्किएका थिए । गणित शिक्षा परिषद धादिङका अध्यक्ष समेत रहेका रेग्मी नीलकण्ठ क्याम्पस, नीलकण्ठ बहुप्राविधिक शिक्षालयमा समेत गणित विषय पढाउँदै आएका छन् । रेग्मी प्रिन्सिपल रहेकाे न्यू किबाेबाट एसइई २०८० मा सहभागी शिल्पा श्रेष्ठ ४ जिपिए ल्याउँदै जिल्ला प्रथम भएकी थिईन्।

उच्च शिक्षा विद्याभुषण विद्या पदक पाउनेमा धादिङबाट चार जना रहेका छन् । जसमा २०७९ मा पोखरा विश्व विद्यालयबाट विद्यावारिधी गरेका एकराज दुवाडी, २०७९ मा भौतिकशास्त्रमा विद्यावारिधी गरेका दयानीधि छत्कुली, २०७९ मा व्यवस्थापन विषयमा विद्यावारिधी गरेका प्रेमप्रसाद सिलवाल र २०१९ मा शिक्षा विषयमा विद्यावारिधी गरेका काशीराज पाण्डे रहेका छन् ।

मन्त्रालयले शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याए बापत सामुदायिक विद्यालयका शिक्षक मध्येबाट ७७ जिल्लाका ७४ जना, निजी लगानीका शिक्षक, कर्मचारी र संस्थापक मध्येबाट ३२ जना, विद्यालय व्यवस्थापन पदाधिकारी, विद्यालय कर्मचारी र बालविकास शिक्षकमध्येबाट ३५ जना, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्अन्तर्गत प्राविधिक शिक्षालयका प्रशिक्षक र कर्मचारीमध्येबाट पाँचजना विश्वविद्यालय अनुदान आयोगको सिफारिस बमोजिम विश्वविद्यालयतर्फका शिक्षक कर्मचारीमध्येबाट २५ जनालाई पुरस्कृत गरेको छ ।