देउवाद्वारा उत्कृष्ट कार्य गर्ने २१ स्थानीय तहका प्रमुखलाई सम्मान

Avatar photo
Dhadingpost
शुक्रबार, भदौ २८, २०८१

धादिङ । नेपाली कांग्रेसले २०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेसले जितेकामध्ये उत्कृष्ट कार्य गर्ने नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुङ्गाना सहित २१ स्थानीय तहका प्रमुखहरुलाई सम्मान गरेको छ । ढुङ्गाना प्रमुख रहेको धादिङको नीलकण्ठ नगरपालिका देशभरमा प्रथम भएको थियो ।

केन्द्रीय सदस्य मधु आचार्य प्रमुख रहेको स्थानीय तह समन्वय विभागले केन्द्रीय कार्यालय सानेपामा बिहीबार विशेष कार्यक्रमका बीच स्वमुल्याङकन(LISA) मा उत्कृष्ट नतिजा ल्याउने कांग्रेसबाट जितेका २१ गाउँपालिका र नगरपालिकाका प्रमुखहरूलाई सभापति शेरबहादुर देउवासहित पदाधिकारी र शीर्ष नेताहरूले सम्मान गरे गरेका हुन् ।

०७९ को निर्वाचनमा कांग्रेसले देशभरि ३२९ स्थानीय तहमा प्रमुख जितेको थियो । तीमध्ये उत्कृष्ट कार्य गर्ने २१ वटा स्थानीय तहका प्रमुखहरुलाई कांग्रेसले सम्मान गरेको हो ।

सम्मानित हुनेमा नीलकण्ठका प्रमुख ढुङ्गाना सहित धादिङको नेत्रावती दबजोङ गाउँपालिका अध्यक्ष मेघनाथ रिजाल, ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यमना दनै, नुवाकोटको म्यागङ गाउँपालिका अध्यक्ष आशा तामाङ, सर्लाहीको विष्णु गाउँपालिका अध्यक्ष जवाहरलाल यादव, काठमाडौंको नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेत, सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पा, काभ्रेको पनौती नगरपालिकाका मेयर रामशरण भण्डारी छन् ।

यस्तै सम्मानित हुनेमा स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारी, पर्वतको जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्य, गुल्मीको मदाने गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर कुँवर, रूपन्देहीको तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाँण, चितवनको रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटा, सिन्धुलीको ध्याङलेख गाउँपालिकाका अध्यक्ष जगतबहादुर भोलन, दैलेखको महाबु गाउँपालिकाका कार्यवाहक अध्यक्ष मञ्जुकुमारी शर्मा, हुम्लाको सर्केगाड गाउँपालिकाका अध्यक्ष ठानबहादुर रोकाय, इलाम नगरपालिकाका मेयर केदार थापा, चितवनको खैरहनी नगरपालिकाका मेयर शशीकुमार खनियाँ, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका मेयर आइतमान तामाङ र खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका मेयर विमला राई छन् ।