काठमाडौं । सरकारबाट हुने कैद मिनाहाका लागि यस वर्ष देशभरबाट ६ सय २० जना कैदीबन्दी सिफारिस गरिएको छ । आगामी असोज ३ गते संविधान दिवसको अवसरमा राष्ट्रपति पौडेलले सिफारिस भएका कैदीहरूको कैद मिनाहा गर्ने छन् ।
कारागार व्यवस्थापन विभागका अनुसार कैद कट्टाको सिफारिसविरुद्ध जनताको प्रतिक्रिया आउने क्रममा छ । यो सिफारिसमा पर्नेहरूमा आफूउपर परेको सजायको ५० प्रतिशत कैद बसिसकेका ५ सय ८६ जना र ४० प्रतिशत कैद भुक्तान गरेका ३१ जना छन् । यस्तै ३ जना जेष्ठ नागरिक छन् । सबैभन्दा बढी चोरी मुद्दाका १ सय ८५ जना, बहुविवाह मुद्दाका १ सय ४३ जना, सवारी ज्यान मुद्दाका ९५ जना, नकाबजनी चोरी मुद्दाका ८२ जना, डाँका मुद्दाका ७३ जना र अन्य विभिन्न कसुरका कैदीहरू छन् ।
गतवर्ष कर्तव्य ज्यान मुद्दामा कैदकट्टी तथा माफी मिनाहा पाएका रेशम चौधरी र चेतन मानन्धर ‘रिगल’ जेलमुक्त भएपछि सरकारबाट हुने माफी मिनाहाको चौतर्फी आलोचना भएको थियो । आलोचनापछि चेतनविरुद्ध लागेको मुद्दा पुनः अदालतमा प्रवेश पाएको थियो । सर्वोच्च अदालतले उनलाई पुनः कारागारमा पठाउने आदेश दिएको थियो ।