लगभग ५ हजार वर्ष पहिले पुर्वी अफ्रिकी मुलुक इथियोपियाबाट उत्पत्ति भएको कोदो ४ हजार वर्ष अघि भारत हुँदै नेपाल भित्रिएको थियो । विश्वका २५ भन्दा बढी अफ्रिकी र एशियाली देशहरुमा यसको खेती हुने गरेको छ ।
राष्ट्रिय कृषक समूह महासंघ नेपालले २०७३ सालदेखि हरेक साउन १५ लाई कोदो दिवस मनाउन थालेको हो ।
कोदोको फाईदा
कोदोमा क्याल्सियम, आइरन, प्रोटिन, खनिज लगायतका पौष्टिकताले युक्त औषधीय गुण भएको बाली भएकोले बालबालिका, गर्भवती, मधुमेह, रक्तचाप लगाएतका बिरामीहरुका लागि निकै उपयोगी खाद्यान्न हो । मकैमा भन्दा ३५ गुणा र गहुंमा भन्दा ८.७३ गुणा बढी क्याल्सियम कोदोमा पाइन्छ । यसैगरी चामलमा भन्दा २.३गुणा, मकैमा भन्दा ३.७ गुणा र गहुँमा भन्दा १.५ गुणा बढी फलाम तत्व पाइन्छ । मुटु रोग, स्वासप्रश्वास, पाचन प्रणाली, क्यान्सर लगायतका रोगहरुमा लाभदायक देखिएको यो खाद्यान्न रोगप्रतिरोधात्मक क्षमता हुने र यसले मांसपेशी र हड्डीलाई समेत मजबुत बनाउने अनुसन्धानहरूले पुष्टि गरेको छ ।