चितवन । नारायणघाट मुग्लिन सडक खण्ड अन्तरगत भरतपुर महानगरपालिकाको वडा नम्बर २९ मा रहेको सिमलतालमा सडक माथिबाट आएको पहिरोले दुई बस बगाउँदा ६१ जना वेपत्ता भएका छन् ।
वीरगञ्जबाट काठमाडौंतर्फ गइरहेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स लेखेको बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको नम्बर नखुलेको गणपति डिलक्स लेखेको बसलाई भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमताल भन्ने स्थानमा पहिरोमा परेको हो ।
आज बिहान करिब साढे ३ बजे ती बस पहिरोमा परेका हुन् । बसमा कति यात्रु थिए भन्ने खुलेको छैन । तर, ३ जना यात्रु भने बाहिर निस्किन सफल भएको डीएसपी भेषराज रिजालले जानकारी दिए । उनका अनुसार घटनास्थलमा प्रहरी पुगिसकेको छ । पानी परिरहेकोले उद्धारमा भने समस्या भएको छ ।
चितवनका प्रमुख जिल्ला अधिकारीका इन्द्रदेव यादवका अनुसार सिमलतालमा पहिरोमा परेका दुई बसमध्ये वीरगन्जबाट काठमाडौँ गइरहेको एन्जल बसमा २४ जना र काठमाडौंबाट गौर आइरहेको गणपति डिलक्समा ४१ जना यात्रु रहेको अनुमान गरिएको छ ।
त्यसैगरी सत्रकिलोमा माथिबाट खसेको ढुङगा लागेर अर्को यात्रुबाहक बसको चालकको मृत्यु भएको जनाइएको छ । बुटवलबाट काठमाडौं जाँदै गरेको लु २ ख ६५६६ नम्बरको बसका चालक मेघनाथ विक गम्भीर घाइते भएकोमा उपचारको क्रममा मृत्यु भएका डीएसपी रिजालले जानकारी दिए ।