काठमाडौं । अविरल वर्षासँगै आएको पहिरो र बाढीमा परेर शनिबार मात्रै १० जनाको ज्यान गएको छ । पहिरोमा आठ र बाढीमा दुईजनाको मृत्यु भएको हो ।
गण्डकीका स्याङ्जा, पर्वत र तनहुँमा पहिरोमा पुरिएर सातजनाको मृत्यु भएको छ । त्यस्तै, बागमतीका काठमाडौंमा पहिरोमै पुरिएर एकजनाको तथा काभ्रेमा खोलाले बगाएर दुईजनाको ज्यान गएको छ ।
शुक्रबारदेखिको झरी आइतबारसम्म कायमै रहने भएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् चिरञ्जीवी भेटवालका अनुसार आइतबार देशका धेरै ठाउँमा मेघ गर्जन चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा हुनेछ । तर, पश्चिम नेपाल त्यसमा पनि सुदूरपश्चिमा धेरै वर्षाको सम्भावना छ ।