इद पर्वको अवसरमा आज देशभर सार्वजनिक बिदा

Avatar photo
Dhadingpost
बिहिबार, चैत्र २९, २०८०

काठमाडौं । इस्लाम धर्मावलम्बीहरूले आज आफ्नो महान् पर्व ‘इद उल फित्र’ मनाउँदै छन् । इद पर्वको अवसरमा सरकारले आज देशैभर सार्वजनिक बिदा दिएको छ । अरबी पात्रो अनुसार दसौँ महिनाको पहिलो दिन आज बिहीबार मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इद-उल-फित्र पर्व मनाउँदैछन् ।

बुधबार चन्द्रमा नदेखिएकाले आज इद मनाउने निर्णय भएको मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले जनाएका छन् । मुस्लिम धर्मअनुसार ‘रोजा’, ‘जकात’, ‘हज’, ‘नमाज’ र ‘कलमा’ गरी पाँच स्तम्भ हुन्छन् । रमजानलाई पवित्र महिना मानिन्छ । जकात (दान) यही महिनामा दिइन्छ ।

मुस्लिम समुदायमा इदको अन्तिम दिन बिहानै उठेर नुहाई धुवाइ गरी मस्जिदमा नमाज पढेर धार्मिक मनोभाव आदानप्रदान गर्ने परम्परा छ । साथै मुस्लिम समुदायले आफन्तमाझ अङ्गालो हालेर आत्मीयता साट्ने गर्छन् । यो पर्वको ७०औं दिनमा बकरिद अर्थात ‘ईदउलअजहा’ पर्व मनाउने गर्दछन् । यस अवसरमा मुस्लिमहरु ‘हज’ का लागि साउदी अरबको मक्का मदिना पनि जान्छन्, राष्ट्रिय जनगणना–२०७८ अनुसार देशमा मुस्लिम सुमदाय कूल जनसङ्ख्याको ५ दशमलव ९ प्रतिशत छ ।